पाँचखाल नगरपालिकाकाे उर्दी: उल्लासमय सहभागिता जनाएर जात्रा र पर्व मनाउनू

कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन दुई दिन बिदा दिएको छ। 

पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको हो।

‘कार्यपालिका बैठकले नै जात्रा/मेलाका लागि बिदा दिने निर्णय भएअनुसार सार्वजनिक बिदा दिइएको हो’, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले भने। 

तर काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन्।

उनले उनले स्थानीय पर्वमा सार्वजनिक दिएर संस्कृतिको प्रवद्र्धन गर्नु स्थानीय सरकारको कर्तव्य रहेको समेत बताए। बिदासम्बन्धी सूचना निकालेर नगरभित्रका सम्पूर्ण सरकारी कार्यालयलाई बिदा दिएकाले स्थानीयवासीलाई उल्लासमय सहभागिता जनाएर जात्रा र पर्व मनाउन अधिकृत भण्डारीले आग्रह गरे। 

यद्यपि पाँचखालले दिएको सार्वजनिक बिदाको चौतर्फीरूपमा आलोचना भइरहेको छ। 

तर नगरका ऐतिहासिक शक्तिपिठ पलाञ्चोक भगवतीलगायत मन्दिरमा बर्षौँदेखि स्थानीय समुदायले उल्लासपूर्ण तवरले पर्व मनाउने भएकाले यस वर्ष पनि बिदा दिने परम्परालाई निरन्तरता दिएको अधिकृत भण्डारीले बताए।

उनले भने, ‘कोरोना भाइरसको उच्च जोखिम बढिरहेकाले स्वास्थ्य सुरक्षा अपनाउन स्थानीयलाई भनेका छौँ, उहाँहरुले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ।’ 
 

प्रकाशित मिति: : 2020-07-31 10:07:09

प्रतिकृया दिनुहोस्