पहिरोका कारण उत्तरी पर्वतको जलजलामा २५ घरपरिवार विस्थापित भएका छन्।
पहिरोले गाउँपालिका–७ धाइरिङमा घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन्।
धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन्।
सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए। उनका अनुसार पहिरोको डरले त्यहाँका बासिन्दाहरु छिमेकीकहाँ शरण लिएर बसेका छन्।
मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन्।
सल्यान र किराखोरको बिचमा रहेको ठूलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ।
सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन्।