अविरल वर्षापछि खोलाहरूमा आएको बाढीले दाङमा बगाएकाे एम्बुलेन्स क्रेनले निकालेकाे छ।
घोराही उपमहानगरपालिका ११ स्थित हापुर खोलाले गएराति रा १ च ८१२ नम्बरको एम्बुलेन्स बगाएको थियाे।
बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएर करिब २० मिटर तलसम्म पुर्याएका थिए।
‘खोलाले एम्बुलेन्स बगाएको खार पाएपछि २० मिनेटमै हामी घटनास्थल पुगेर एम्बुलेन्समा तीनजनालाई उद्धार गरेका थियौ,’ जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले, ‘बाँकी दुईजनालाई केही समय पछि उद्धार गरेका हौं।’
गाडीमा चालकसहित ४ जना मात्रै रहेका थिए। उनका अनुसार खोलाले एम्बुलेन्स चालक तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी अम्मराज कुँवर, घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु सार्की, उनकी श्रीमती शान्ति नेपाली, छोरा विशेष नेपाली र सोही ठाउँ निवासी अर्का २८ वर्षीय शरद नेपालीलाई प्रहरीले सकुशल उद्धार गरेको थियो।
त्यस्तै, बुधबार बिहान करिब साढे २ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ त ८११ नम्बरको एम्बुलेन्स घोराही ४ स्थित सिस्ने खोलाले बगाएको छ। करिब १५ मिटर तल पुगेको उक्त एम्बेलेन्समा ६ जना सवार रहेको र उनीहरू सबै सकुशल रहेको डिएसपी खड्काले बताए।
स्थानीय र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको प्रहरीले बताएको छ।
घोराही–तुलसीपुर सडक खण्डमा पुल नभएका खोलाले वर्षेनि साना सवारीसाधन बगाउने गरेका छन्। उक्त सडकखण्डको ग्वारखोला, संक्राम खोला, गुर्जेखोलालगायतमा पुल भएपनि हापुर खोला, सेवारखोला, पत्रेखोलालगायत खोलामा पुल नबन्दा वर्षामा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ।