हरेक दुई देशबीचको सम्बन्ध बहुआयामिक हुन्छ । सरकारस्तर, व्यापारीस्तर, जनस्तर विभिन्न स्तरका सम्बन्ध हुन्छन् । सरकारस्तरीय सम्बन्ध सत्ताको दृष्टिकोण र उदारतामा भर पर्छ । व्यापारिक सम्बन्धमा साझा प्रतिफलको हिसाबकिताब हुन्छ । तर, बलियो र दिगो सम्बन्धचाहिँ जनता–जनताबीचको हुन्छ । जनस्तरको सम्बन्धलाई धर्म, संस्कृति, साझा मूल्य–मान्यताजस्ता कडीले जोडेको हुन्छ । सत्ताले फुटाउन चाहँदैमा जनस्तरको सम्बन्ध फुट्दैन, न त जोडिन्छ नै ।
नेपाल–भारतबीच सरकारस्तरमा भन्दा जनस्तरको सम्बन्ध धेरै प्रगाढ छ । विशेषगरी जनस्तरको सम्बन्धलाई धर्मले बाँधेको छ । दुवै देशका बहुसंख्यक नागरिक हिन्दू छन् । हामी तीर्थयात्रा गर्न भारतका धामहरू पुग्छौँ । भारतीय पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर दर्शन गर्न नेपाल आउँछन् । सीमा वारिपारिको रोटीबेटीको सम्बन्धले यो जनस्तरको सम्बन्धलाई थप नजिक बनाएको छ ।
नेपाली भारतीय सेनामा छन् । भारतमा श्रम बेच्न जाने प्रचलन उहिल्यैदेखि छ । भारतीय पनि श्रम गर्न यता आउँछन् । नेपालमा श्रम गरेको आर्जनले लाखौँ भारतीयको घरको चुलो बल्छ, भारतमा श्रम गरेको आर्जनले लाखौँ नेपालीको घरमा चुलो बल्छ ।