अब भूकम्प पीडितकाे उजुरी अनलाइनबाट सुनवाई हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले भूकम्प पीडितबाट परेका उजुरीको अनलाइन सुनवाई थालेको छ। 

लामाे दूरीका सवारी नचलेका कारण उजुरीकर्तालाई सहज होस् भन्दै समितिले पुनरावलोनका लागि सोमबारबाट अनलाइन सुनवाई थालेको हो।

समितिको तीन सदस्यीय पूर्ण इजलासले नुवाकोटका ५० जना उजुरीकर्तासग प्रत्यक्ष कुराकानी गर्दै सुनवाई गरेको छ।

समितिले यसअघि उजुरीको दर्ता क्रम अनुसार पेसी तोकी सुनवाई गर्ने गरेको भएपनि अबदेखि प्राविधिक र व्यवस्थापनलाई ध्यान दिएर एक दिनमा एउटा जिल्लाका उजुरीको सुनवाई गर्ने छ। 

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले समितिले साप्ताहिक पेसीमा तोकेका उजुरीकर्तालाई टेलिफोनमार्फत् सम्पर्क गरी अनलाइन सुनवाईमा उपस्थिति हुने व्यवस्था गर्ने छ।

२०७७ साल असार मसान्तसम्म समितिमा कल ७ हजार ३६ उजुरी परेका थिए। जसमध्ये ६ हजार ७ पुनरावेदनमा छानबिन र सुनुवाईको प्रक्रिया पूरा भइ आदेश वा निर्णय भइसकेको छ।

 तीमध्ये २ हजार ८६ वटा उजुरीको फैसला भइसकेको छ। फैसला भएका उजुरीमध्ये १ हजार ३ सय ६७ को सुरु सदर भएको छ। 

१ सय ६१ उजुरीमा उल्टो फैसला भएको छ। जसमा १ सय २२ वटा पुनर्निर्माण छन् भने ३९ वटा प्रवलिकरण छन्। 

उजुरीमध्ये ६१ तामेलीमा गएका छन् भने ४ सय ९७ को खारेजी भएको छ।

प्रकाशित मिति: : 2020-07-27 21:19:35

प्रतिकृया दिनुहोस्