काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो। उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भई डल्लुमै कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन्।
उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरूम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् ।
मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ। युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो। मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए । आफू भने अलि परै बसेका थिए ।
एसिड प्रहार गरिसकेपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो ।
तर एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरिसकेकोले उनीहरु उम्किन पाएनन् ।
बिहीबार साँझ डेराबाट दही किन्न बाहिर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो।
युवतीले एसिड प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ। एसिड प्रहार गरिएकी युवतीको कीर्तिपुरमा उपचार भइरहेको छ