रकम लुटिएको नाटक गर्ने तीन पक्राउ

प्रहरीले लुटिएको भनिएको रकमसहित त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। 

बुधबार करिब ४ लाख रुपैयाँ लुटिएको सुचनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कमला नगरपालिका २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारीले बैंकमा जम्मा गर्न लागेको रकम पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटेको बताएपछि उनीसहित तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धिरजसहित धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ७ स्थित ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने २१ वर्षीय छोटु झा छन्। 

जनकपुरधाम उपमहानगरपालिका १७ स्थित कपिलेश्वर नजिक जलाद पुलमा रहेको टिभिएस सोरुममा कार्यरत तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

सोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरको एक बैँक खातामा जम्मा गर्न आउने क्रममा धिरजले अज्ञात समुहले रकम लुटेर भागेको बताएका थिए।

उनीहरु तीनै जनाले सोरुमलाई झुक्याएर  रकम बाडफाड गर्ने सहमती गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले लुटिएको भनिएको छोटु झाको घरमा लुकाई राखेको अवस्थामा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरेको छ। 

प्रकाशित मिति: : 2020-07-23 16:02:54

प्रतिकृया दिनुहोस्