लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

बेसीशहर नगरपालिका-८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। महिला १० र पुरूष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरूषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन्।

विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी गरी हाल ७५ जना कैदीबन्दीमध्ये ६९ जना कैदीबन्दी पुरूष रहेका छन्। महिलातर्फ भने १० जनाको क्षमता रहेकामध्ये हाल छ जना कैदी रहेका छन्। सोहीमध्ये ३२ जना कैदी पुरूष र ६ जना कैदी महिला रहेका छन् भने ३७ जना थुनुवा पुरूष रहेको जिल्ला कारागारले जनाएको छ।

कारागारका जेलर विष्णुप्रसाद पौडेलका अनुसार यसरी क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरू सकसमा दिनरात गुजार्न बाध्य छन्। एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। कानुनी प्रावधानअनुसार कारागार ३५ जनाको लागि मात्रै उपयुक्त देखिन्छ। पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुजार्न निकै सास्ती भएको कैदीबन्दी बताउँछन्।

गर्मीले सास्ती बनाउनुका साथै बर्खायाममा परेको यतिबेलाको वर्षाले कारागारको भित्ता रसाएर ओछ्यानमै छिर्ने गर्नाले समेत सुत्न निकै कठिनाइ भइरहेको करिब आठ वर्षदेखि कैद सजय भोक्दै आएका मानबहादुर परियारले बताए। त्यति मात्र नभई, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कति बेला भत्किएर ज्यान लिन्छ कि भन्ने त्रासै त्रासमा दिनरात बताउँदै आएको कैदीबन्दीको भनाइ छ।

गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै आपत् हुने गरेको छ। धेरै जना कैदीबन्दी भएकाले शौचायलय जानलाई समेत पालो कुरेर बस्नुपर्ने त्यहीमाथि दुर्गन्धित भएकाले रोग लाग्ने सम्भावना रहेको आठ वर्षदेखि कैद सजाय भोग्दै आएका जीतबहादुर अधिकारीको भनाइ छ। कोरोनाको महामारीको त्रासमासमेत सामाजिक दूरी कायम गरी सुत्न नपाएकाले कोरोना सङ्क्रमणको जोखिम रहेको कैदीबन्दीले बताएका छन्।

सम्बन्धित निकायबाट यस कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ हुँदैन भनेर २०७४ सालमा माटो परीक्षणको कामसमेत भइसकेको छ। नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ।

वि.सं. २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेसीशहर सदरमुकाम बनेको बेलामै निर्माण गरिएको यस कारागारको अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुन सकेको छैन। थप व्यवस्थित, कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरूप संरचना निर्माण नहुनुका साथै जीर्ण बन्दै गर्दा कारागारमा विभिन्न समस्या उत्पन्न हुने गरेको छ। रासस

प्रकाशित मिति: : 2020-07-21 12:12:50

प्रतिकृया दिनुहोस्