नेपालमा कोरोना भाइरसको महामारी सुरु भएसँगै लगाइएको लकडाउन अबधीभरमा भारतबाट एक बालिकासहित २८ महिलाको उद्धार गरिएको छ।
नेपाल तथा भारतका बिभिन्न स्थानबाट मानव वेचबिखन तथा ओसारपसारमा परेका पीडितहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुको समन्वयमा मानव वेचबिखन अनुसन्धान व्युरोले उद्धार गरेको हो।
व्यूरोका अनुसार गत जेष्ठ २९ गते काभ्रेपलान्चोक पनौती बस्ने ईशा श्रेष्ठलाई उद्धार गरिएको छ।
१३ वर्षकी श्रेष्ठलाई गत चैत २६ गते शिवरात्रिका दिन जन्मदिन मनाइदिने भनि फकाईफुलाइ भारतको ओसान भन्ने ठाउँमा लगेर बेचिएकाे थियाे।
यो घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको व्यूरोले जनाएको छ। उनीहरुमाथि मुद्दा दर्ता गरिएको र प्रतिबादीहरु हाल पुर्पक्षमा रहेका छन्।
यता गत साउन १७ गते ६ महिलालाई दिल्लीको बुरारी जोरदा भन्ने ठाउँबाट उद्धार गरिएको छ।
उनीहरुलाई भारतदेखी तेश्रो मुलुक कुवेत, ईराक र साउदीमा राम्रो काम लगाई दिने भन्दै काठमाडौं, पोखरा, बुटवल, दाङ हुँदै नेपालगञ्ज सीमानाबाट भारतको दिल्ली पुर्याइएको थियो।
उनीहरुलाई एउटा घरको कोठामा राखेर शारिरीक तथा मानसिक यातना दिएको उजुरीको आधारमा दिल्लीमा रहेको सामाजिक संगठन नेपाली देशभक्त आवाज र नेपालमा रहेको शान्ति पुनर्स्थापना गृहसँगको समन्वयमा व्युरोले उद्दार गरेको हो।
यता बिभिन्न मितिमा भारत गएका २१ जना महिलाहरुलाई बिभिन्न संस्थाहरु र भारतस्थीत नेपाली रातदुतावाससँगको सहकार्यमा व्युरोले साउन ३१ गते उद्धार गरेको छ। यस घटना माथि अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ।
यस्तै नेपालका विभिन्न स्थानबाट १३ जनालाई उद्धार गरिएकाे छ।
व्यूराेका अनुसार नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, चितवनमा २, कास्कीमा २, मकवानपुरमा १, बर्दिया १ र बाँकेमा १ गरी जम्मा १३ जनाकाे उद्धार गरिएकाे हाे।
यस कार्यमा संलग्न हुनेलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम अनुसन्धान तथा कानूनी कारवाही भैरहेको व्यूराेले जनाएकाे छ।