बनारसमा नेपालीको कपाल मुन्डन गरिरहेको भिडियो खिच्ने पक्राउ

प्रहरीले बनारसमा नेपालीको कपाल मुन्डन गरिरहेको भिडियो खिच्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन्तोष पाण्डेय छन्।

पाण्डेयसहितको समूहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे केही दिनअघि काठमाडौंमा दिएको बयानविरुद्ध बनारसमा रहेका एक नेपालीको कपाल मुन्डन गरि भिडियो खिचेर सामाजिक सन्जालमा राखेका थिए। 

अरुण पाठकको फेसबुक अकाउन्टमा उक्त भिडियो अपलोड भएको थियो।

पाठक विश्व हिन्दु सेना संगठनमा आबद्ध रहेको बनारस प्रहरीले जनाएको छ। बनारस प्रहरीले भिडियो खिच्ने पाण्डेयको मोबाइलमा उक्त भिडियो भेटिएको र उनैमार्फत घटनामा संलग्न अधिकांशको पहिचान भएको जनाएको छ।

प्रधानमन्त्री ओलीको भाषणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेका छन्।

यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएका छन् भने प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी गर्न पनि लगाएका छन्।

जब भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको थियो। 

भाइरल भिडियोमा गंगाको घाट नजिक यो घटना भएको देखिन्छ जहाँ नेपाली युवकलाई संगठन र हिन्दूस्तान जिन्दावादको नारा लगाउन दबाब दिइरहेको देख्न सकिन्छ। उनीहरुले ती युवकलाई जय श्रीरामको नारा र केपी ओली मुर्दाबादको नारा पनि लगाउन लगाउँछन् ।

त्यसपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको कुरा उल्लेख गर्छन्। उनले राम नेपालको नभएर भारतको भएको पनि बताउँछन्। र, अन्त्यमा जय श्रीराम र भारत माताको जयको नारा लगाउँछन्।

हिन्दूवादी संगठनले बिहीबार नै वाराणसी चोक क्षेत्रस्थित नेपाली मन्दिर बाहिर चेतावनीसहितको पोस्टर लगाएका थिए। जसमा प्रधानमन्त्री ओलीले भगवान रामबारे दिएको बयान फिर्ता लिन माग गरेका थिए । उनीहरुले त्यसो नगरे भारतमा रहेका नेपालीले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

बनारस प्रहरीले घटनालाई गम्भीरतापुर्वक लिएको बताउँदै फरारको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति: : 2020-07-18 05:58:07

प्रतिकृया दिनुहोस्