एक युवाको हत्या आरोपमा सात जना पक्राउ

सप्तरीको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ। शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन।

हत्या आरोपमा प्रहरीले विभिन्न तीनवटा कोणबाट अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए। सोमबार रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका–३ स्थित मुतनी नदीमा मंगलबार साँझ शव फेला परेको थियो। शवको टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको अवस्थामा शव नदीबाट निकालेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा उनको र रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो। छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो। छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका राम आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका–३ नरहीमा पुगेर मासु, रक्सी खाएका थिए। सोही बेलादेखि उनी बेपत्ता भएका थिए। 

यसैगरी २०७४ फागुन २७ गतेको सामूहिक बलात्कारको घटनामा रामको उजुरीका आधारमा गाउँका चार जना कारागारमा थुनामा छन्। उनीहरुलाई जनही १० वर्ष कैद सजायको फैसला भएको छ। अन्य दुई जनाको हकमा मुद्दा मुल्तबी रहेको छ। प्रहरीले जग्गा विवादका पक्ष, बलात्कारको मुद्दामा कैदमा परेका पक्ष र सँगै रक्सी खाएका साथीलाई अनुसन्धानको दायरामा लिएको प्रहरीले जनाएको छ। शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: : 2020-07-16 11:57:28

प्रतिकृया दिनुहोस्