भारतमा कांग्रेस पार्टीमा अर्को बबण्डर, सचिन पायलटलाई कारवाहीको तयारी

भारतको प्रतिपक्षी दल भारतीय कांग्रेसमा फेरि विवाद चुलिएको छ।

पार्टीका युवा नेता सचिन पायलटलाई राजस्थानको उप मुख्यमन्त्री तथा प्रदेश अध्यक्षको पदबाट हटाउने निर्णय गरेलगत्तै अयोग्य घोषित गर्ने प्रक्रिया पनि सुरु गरेको छ। 

विधानसभा सभामुख सीपी जोशीले बुधबार कांग्रेस पार्टीको अनुरोधमा पायलटसमेत १९ असन्तुष्ट विधायकलाई नोटिस पठाएका छन्। शुक्रबारसम्म उनीहरूसँग स्पष्टीकरण माग गरिएको छ। 

नोटिसमा पार्टी विरोधी गतिविधि तथा कांग्रेस विधायकको दुई वटा बैठकमा समावेश नभएको भन्दै किन अयोग्य घोषणा नगर्ने भन्ने प्रश्न गरिएको छ।

राजस्थान कांग्रेसका प्रभारी अविनाश पाण्डेले पायलटसमेत १९ सदस्यले दुई दिनभित्र उत्तर नपठाएको खण्डमा उनीहरूले कांग्रेस विधायक दलबाट सदस्यता छोडेको रूपमा लिँदा हुने बताए। 

कांग्रेस श्रोतले पार्टीको व्हिप नमानेको भन्दै उनीहरूलाई कार्यवाहीको तयारी गरिएको बताएका छन्। 

पायलटले बुधबार आफ्नो कुरा राखेका छन्। उनले आफू सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) मा समावेश हुन नलागेको भन्दै आफू कांग्रेसकै सदस्य भएको बताए। ‘केही मानिसले मेरो नाम बिजेपीसँग जोडिरहेका छन्। मेरो इमेज खराब बनाउने अभियान सुरु भएको छ। मैले राजस्थान कांग्रेसमा फर्किन धेरै मिहिनेत गरेको छु। तर, पछि मेरो कुराको सुनुवाई भएन,’ पायलटले भने।

मुख्यमन्त्री अशोकसिंह गलहोटसँगको विवादका कारण पायलटले सरकार गिराउन खोजेको आरोप लागेको थियो। उनले आफूलाई मुख्यमन्त्री बनाउन पार्टीलाई दबाबस्वरुप गुटबन्दी गरेको आरोप लागेको छ। 

कांग्रेस पार्टीका महासचिव ज्योतिरादित्य सिन्ध्याले पनि केही महिनाअघि राहुल तथा सोनिया गान्धीसँगको मतभेदका कारण पार्टी परित्याग गरेर बिजेपीमा समावेश भएका थिए।

प्रकाशित मिति: : 2020-07-15 13:35:31

प्रतिकृया दिनुहोस्