टुँडिखेलबाट बालेनले बदल्न खाेजेकाे ‘तन्नेरी’ सपनाहरू

कमल विक

काठमाडाैं

‘देशको राजनीतिक अवस्था देखेर मनोबल घटेको थियो। त्यही भएर बाहिर (विदेश) जाने भनेर भ्यालीमा आएको थिएँ। तर, यहाँ आएपछि उत्साहित छु, केही आशा पलाएको छ, अब यतै केही गर्न सकिन्छ कि...’ बर्दियाको बाँसगढी नगरपालिकाका सागरकुमार शाही (ठकुरी)ले बिएल नेपाली सेवासँग भने।

स्थानीय होटलमा हल्काफुल्का काम गरेका सागर कामको खोजीमा राजधानी काठमाडौँ आएका थिए। काठमाडौँमा पनि सोचेजस्तो काम नपाएपछि विदेशिने योजनासहित घर फर्किएका थिए।

घरमै रहेकाबेला निःशुल्क तालिमका लागि आवेदन खुल्यो। फाराम भरे। छनोट भए। र, अहिले काठमाडौँको टुँडिखेलमा ‘फास्ट फुट कुकिङ’को तालिम लिइरहेका छन्।

तालिम लिइरहँदै गर्दा हो, सागरमा यो आशा पलाएको।

सागरले जस्तै मोरङकी दिव्यानी अधिकारीले पनि यहाँ तालिम लिइरहेकी छिन्।

दिव्यानी भक्तपुरको सूर्यविनायकमा बसेर स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्छिन्। उनी सिप सिकेर अध्ययनसँगै काम गर्ने सोचसहित तालिममा सहभागी छिन्। उनले पनि टुँडिखेलामा बारिस्टा (कफी बनाउने) तालिम लिइरहेकी छन।

अहिले उनी आत्मविश्वासले भरिएकी छन्, ‘मर्निङमा क्लास, दिउँसो बेरोजगार थिएँ। अब त कतै होटल, क्याफेतिर काम पाइएला नि...।’

टुँडिखेलमा सागर र दिव्यानीजस्ता जोस र हुटहुटीले भरिएका सयौँ मानिस छन्। उनीहरुलाई सिप सिकाउने चाँजोपाँजो काठमाडौँ महानगरपालिकाले मिलाएको छ।

विभिन्न विधामा निःशुल्क तालिम प्रदान गर्ने योजनाअनुसार महानगरले मजदुर दिवसको दिन (मे १)देखि टुँडिखेलमा ‘सिप मेला– २०८१’ सञ्चालन गरेको छ। सिप मेला दक्ष कामदार उत्पादनका लागि सिप सिकाउन आयाेजना गरिएको कार्यक्रम हो।

निःशुल्क तालिमका लागि काठमाडौँ महानगरले आवेदन खुला गरेको छ। आफूलाई मन परेको विधामा सिप सिक्नका लागि काठमाडौँ महानगरसहित देशका जुनसुकै नागरिकले आवेदन दिन सक्छन्। आवेदन दिनेहरुलाई छनोटका आधारमा महानगरले तालिम दिन्छ।

महानगरले तीन बर्से कार्यक्रमअन्तर्गत एक वर्षमा १५ हजारलाई तालिम दिने र ती मध्ये पाँच हजारलाई राेजगारी दिने लक्ष्यसहित याे कार्यक्रम सञ्चालन गरेकाे हाे। याे तालिमका लागि हालसम्म १२ हजारभन्दा बढीले फाराम भरेका छन्।

तालिमका अनलाइनबाट वा कार्यक्रमस्थल टुँडिखेलबाट पनि आवेदन दिन सकिन्छ।

१० क्षेत्रका ३० विधामा तालिम

सिप मेलामा महानगरले १० क्षेत्रका ३० विधामा तालिम सञ्चालन गरेकाे छ।

अटाे माेबाइल्स: अटाे इलेक्ट्रिक, अटाे एअर कन्डिसन र इलेक्ट्रिकल कार रिपेयर।

निर्माण: डकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ।

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट: बारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस।

सूचना/प्रविधि: डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सिसिटिभी क्यामरा र मोबाइल रिपेयरिङ।

मेकानिकल: वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन।

आर्ट एण्ड कल्चर: आर्ट एण्ड स्कप्चर।

गार्मेन्ट्स: टेलरिङ्/ड्रेस मेकर र फेसन डिजाइनिङ्।

व्युटिसियन: नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन, मेक अप आर्ट, आइलेस।

डिजाइनिङ्: स्क्रिन प्रिन्ट।

पुरोहित: पुरोहित र ज्योतिष तालिम।

हाल यी तालिमहरु चलिरहेका छन्। र, आवेदन लिने क्रम पनि जारी छ।

बालेनकाे साेच

सम्भवत: देशभरिका ७ सय ५३ वटा स्थानीय तहमध्ये काठमाडाैँ महानगरपालिका पहिलाे हाे, जसले एकैपटक ठुलाे जमातलाई सिप सिकाएर प्रत्यक्ष राेजगारीमा जाेड्ने जमर्काे गर्‍याे। विगतमा काठमाडाैँ महानगरबाटै तालिमहरु सञ्चालन भए गरेका भएपनि यसरी ठुलाे जमातलाई सिधैं राेजगारीमा जाेड्ने गरी भएका थिएनन्।

महानगरकाे याे कार्यक्रम मेयर बालेन्द्र साह (बालेन)काे साेचमा आधारित छ।

बेराेजगारीकाे अवस्था दिनानुदिन भयावह हुँदै गइरहेकाे अवस्थामा तालिम दिएर राेजगारीका अवस्थाहरु सिर्जना गर्न, जागिरकाे खाेजीमा विदेश जाने ट्रेनलाई राेक्न तथा विदेश गएपनि सिप सिकेर जाँदा बढी कमाइ गर्न सक्ने अवस्था बनाउनका लागि याे कार्यक्रमकाे आयाेजना गरिएकाे तालिम संयाेजक देबेन्द्र केसीले बताए। ‘यही कन्सेप्टअनुसार हाम्राे याे कार्यक्रम आएकाे हाे, याे मेयरज्यूकाे भिजनअनुसार कार्यन्वयन भइरहेकाे अवस्था हाे,’ केसी वर्णन गरे।

गाैरवकाे याेजनाअन्तर्गत ‘राेजगार र आयवृद्धि, काठमाडाैँकाे समृद्धि’ भन्ने नारासहितकाे याे कार्यक्रम लिड भने उपमेयर सुनिता ढङ्गाेलले गरेकी छन्।

उत्साहित युवा

‘उचित काम र दामकाे अभाव’लाई मुख्य कारण बनाएर पलायन हुनेहरुकाे जमात ठुलाे छ। तर, क्षमता र सिपकाे अभावतिर भने खासै ध्यान दिएकाे पाइँदैन। याे परिवेशमा महानगरले युवा जमातकाे ऊर्जा र आत्मविश्वासमा मलजल गर्ने काम गरेकाे छ।

‘सकभर त युवा विदेश जाने ट्रेनबाट राेकिउन्, यदि विदेश नै गएपनि सिपकाे सदुपयाेग गरेर समृद्ध हाेउन्’ भन्ने महानगरकाे साेचमा युवाकाे साेच पनि मेल खाएकाे छ। सागर स्वयम् भन्छन्, ‘पहिलाे कुरा त देशमै केही गर्न सकिन्छ कि भन्ने आशा पलाएकाे छ। अब त विदेश नै जानु परे पनि हातमा सिप छ।’

सागर सिप सिक्न पाएकाेमा उत्साहित छन्। र त हात माथि तन्काउँदै भन्छन्, ‘बालेन साहप्रति त याे लेबलकाे धारणा भइसक्याे, उहाँजस्ताे युवा देशलाई आवश्यकता छ, याे तालिमका लागि धेरै-धेरै धन्यवाद दिन चाहन्छु।’

दिव्यानी पनि त्यसैगरी उत्साहित हुँदै भन्छिन्, ‘म पनि बालेन साहकाे फ्यान हुँ, मलाई पनि त्यस्तै बन्न मन लाग्छ, किनभने उहाँले धेरैकाे मन जित्नु भएकाे छ। धेरै नेताले पहिलेदेखि काम गरे पनि बालेन साहले छाेटाे समयमा सबैकाे मन जित्नु भएकाे छ। उहाँकाे काम पनि एकदमै तारिफ गर्न याेग्य छ। त्यसकाे लागि एकदमै थ्याङ् यू भन्छु अनि यस्ताे कामहरु अझै गरिरहनुहाेस्।’

यस्ता नवयुवाहरुसँग आफूले जानेकाे सिप र अनुभव साट्न पाएकाेमा प्रशिक्षक गाैरव विक पनि खुसी छन्, ‘उहाँ (युवा)हरुकाे अनुहारमा खुसी देखेकाे छु, यस्ताे घाममा पनि टुँडिखेलमा आएर काम सिकिरहनुभएकाे छ। सिकाउन पाएकाेमा मलाई पनि एकदम खुसी लागेकाे छ।’

यसरी देशका अन्य पालिकाहरुले पनि युवालाई सिप सिकाउने कुरामा ध्यान दिन जरुरी रहेकाे तर्क उनकाे छ।

०००

महानगरले याे तालिम सकिएपछि सहभागीमध्ये पाँच हजारलाई याे वर्ष राेजगारी दिने याेजना बनाएकाे छ। त्यसका लागि महानगरले सिप मेलाकाे अन्तिम दिन ‘राेजगार मेला’काे आयाेजना गर्नेछ। त्यसमा राेजगारदाता (कम्पनी)हरुले स्टल राख्नेछन्। भने, तालिम लिएकाहरुले आफूले जानेकाे सिपबारे बताउनेछन्।

त्यसका आधारमा राेजगारदाताहरुले राेजगार उपलब्ध गराउनेछन्।

त्यसका साथै युवाहरुलाई राेजगारीमा जाेड्नका लागि महानगरले ‘राेजगार बैंक’काे अवधारण कार्यन्वयनमा ल्याएकाे छ।

फाेटाे/भिडियाे: रविन भण्डारी

प्रकाशित मिति: : 2024-05-13 20:08:00

प्रतिकृया दिनुहोस्