हिलाम्‍य सडकले पैदलयात्रीलाई सास्ती

निरन्तरको वर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य छन्। 

आर्थिक वर्ष सकिनै लाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतिको कामले सडक प्रयोगविहीन भएका हुन्।  सवारी गुडाउन बनाइएका सडकमा पैदलयात्रा गर्न समेत कठिन भएको बागलुङ नगरपालिका-९ तित्याङका हीराबहादुर खड्काले बताए। 

“बिहान खेतीपातीमा जाँदा हिँडेको बाटो साँझ फर्किने बेला हिँडिसक्नु हुन्‍न”, खड्काले भने, “पानी पर्न थालेपछि जमिन भत्काउन थाल्छन्, सधैँको सास्ती भयो।”

सदरमुकाम बागलुङबजार र मध्यपहाडी लोकमार्गको घोडाबाँधे बुर्तिबाङ, पातिहाल्ने खण्डबाहेक जिल्लाका सडक कच्ची छन्। कच्ची सडकका कारण वर्षायाममा सबैभन्दा बढी मर्कामा पैदलयात्री पर्ने गरेका छन्। 

“बाटो हिलाएको खेतजस्तै भएको छ, गाडी त चल्दैनन्, पैदल हिँड्नसमेत कठिन हुने”, बरेङ गाउँपालिका-१ का सकसबहादुर क्षेत्रीले भने, “सधैँको सास्ती दिने यो कस्तो विकास हो ?” 

लकडाउनका कारण रोकिएका साझेदारीका काम रकम फ्रिज हुने भएपछि अन्तिम समयमा धमाधम भइरहेका छन्। सडकका संरचना बनाउनेभन्दा कटिङका काम धेरै हुँदा हिलो र बाढीले सास्ती दिने गरेको छ। 

कोभिड-१९ महामारीका कारण समयमा काम नसकिएकाले सबै निर्माण व्यवसायीले अन्तिम समयसम्म काम गर्नुपरेको निर्माण व्यवसायी दीपेन्द्र खड्का बताउँछन्। रासस

प्रकाशित मिति: : 2020-07-15 11:53:09

प्रतिकृया दिनुहोस्