पूर्णरुपमा विद्यालय सञ्चालन गर्न समितिको आग्रह

सांसदहरुले कोरोना महामारीका कारण बन्द रहेका विद्यालय छुट्टै मोडालिटी तयार पारेर खुलाउन सुझाव दिएका छन् ।

संसदको दिगो विकास तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा वोल्दै उनीहरुले अनलाईन कक्षाले मात्रै पढ्नपाठन सुरु नहुने भन्दै पूर्ण रुपमा विद्यालय सञ्चालन गर्ने विकल्पहरु खोज्न आग्रह गरेका हुन् ।

छलफलमा भाग लिंदै सांसद शारदादेवी भट्टले अनलाइन कक्षाको मात्रै भर पर्न नहुने भन्दै विद्यालय कहिलेबाट खुल्छ भन्दै प्रश्न गर्नुभयो । डा.विमला राईले विपतको समयमा विद्यालयहरु प्रयोग गरिने अबस्था अन्त्य गर्न माग गर्नुभयो ।

सासंद दीननाथ शर्माले उच्च शिक्षा र माध्यामिक शिक्षा ऐन नल्याएर शिक्षा मन्त्रालयले शिक्षालाई प्रभावित बनाएको आरोप लगाउनुभयो ।

निर्देशन र आदेशको भरमा मन्त्रालय चलेका कारण शैक्षिक गुणस्तरमानै असर परेको उहांको भनाई थियो ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले हाल चार हजार भन्दा बढी सामुदायिक विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोग भईरहेको जानकारी दिंदै अवस्था सामान्य भएसँगै विद्यालय पूर्ण रुपमा सञ्चालन गरिने बताउनुभयो ।

छलफलका क्रममा सांसदहरुले निजी विद्यालयहरुका शिक्षकहरुले चार महिनादेखि तलब नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

यस्तै बालशिक्षाका शिक्षकको तलव न्यून भएको र विश्वविद्यालयका पढाउने ७० प्रतिशत आशिंक प्राध्यापकहरुको समस्या समाधान गरिनु पर्नेलगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति: : 2020-07-14 18:02:04

प्रतिकृया दिनुहोस्