नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ। विदेशस्थित महासंघको जूम बैठकले तदर्थ समिति बनाएको हो।
बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ।
उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन्। समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन्। युगेल तेन्डुप शेर्पा–दक्षिण कोरिया, रश्मी थापामगर–क्यानडा, मणी थेवे–अस्ट्रिया, हेम गुरुङ–पोर्चुगल, विनोद पोमो–अमेरिका, कुमार बलामी–यूएई र सुदर्शन थापामगर–अस्ट्रेलिया समितिमा सदस्य रहेका छन्।
गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने समेटिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्ति अनुसार उक्त सञ्जाल बनाउँन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो।
सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकलेसमेत छ महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।
अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समीक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्षसहित २५ जनाको सहभागिता रहेको थियो। बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए।