उद्धव सिलवाल
कोरोना संक्रमणको कारण सरकारले ११ चैतमा गरेको लकडाउन आगामी ७ साउनसम्म पुर्याएको छ। लकडाउन सुरु भएपछि सडक सुधारको कार्य सुरु भएको थियो। सबैतिर निराशा र त्रास छाएका बेला सडक सुधारको कार्यले आशाको किरण देखाएको थियो। तर, त्यो आशाको किरण केही समयमै धिपधिप गर्न थाल्यो। जसकारण त्यसले उज्यालो प्रकाश दिन सकेन। लकडाउनमा गरिएको कालोपत्रे असारमा आएर भत्काउने काम सुरु भइसकेको छ। सडक भत्काएर असरल्ल छाड्ने पुरानै प्रवृत्तिका कारण राजधानीका सडक नदीको बगर जस्तो भएका छन्।
विकासका काम निर्धारित समयभित्र सकाउने प्रणालीको विकास विगतदेखि अहिलेसम्म पनि हुन सकेको छैन। बनाउँदै भत्काउने र भत्काउँदै बनाउने कार्यलाई आम नागरिकले कमिसनरूपी मिठाईको रुपमा लिन थालेका छन्। सार्वजनिक सम्पत्ति र स्रोतको दुरूपयोग गरी व्यक्तिगत फाइदा लिने परिपाटीमा मुलुक अघि बढ्दा विकासको कार्य 'देखाउने नारा'मा परिणत भएको छ। राजधानीको मुटुको रुपमा रहेको जोरपाटी–साँखु,चाबहिल, लाजिम्पाट, गैरीधारा, तीनकुने लगायतका स्थानमा सडकको अवस्था एकदमै नाजुक रहेको छ। बिजुलीका तार भूमिगत गर्ने कार्य पनि असार महिनामै गर्दा त्यसले सडकको अवस्था अस्तव्यस्त बनाएको छ।