जिल्लाको हिमाली गाउँपालिकालाई लक्षित गरेर सञ्चालित कवाडी डिपो बिक्री केन्द्रमा चामलको कमी देखिएको छ।
बिक्री केन्द्रमा ढुवानी गरिएका चामल बिक्री भएर सकिएसँगै चामलको कमी देखिएको हो। कोल्टी डिपोले चामल बिक्री गर्न छाडेपछि र मागअनुसार चामलको कोटा सकिएपछि चामलको अभाव देखिएको डिपोले बताएको छ तर डिपोमा चामलको कमी हुनेबित्तिकै खाद्यान्नकै अभाव नभएको बताइएको छ।
गाउँपालिकाले खाद्यान्न राहतकै लागि एकमुष्ट चामल उठाएपछि मौज्दातको मात्रा सकिए पनि सर्वसाधारणलाई अभाव नभएको बताइएको छ। राहतस्वरुप चामल पनि पाएको र थप गहुँसमेत भित्र्याएकाले खाद्य सङ्कलन भने नभएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।
सबै चामल स्थानीय तहले राहतका लागि खरिद गरेर वितरण गरेपछि दुई सातादेखि चामलको कमी देखिएको डिपोले बताएको छ। गएको वर्षमा कवाडी डिपोमा तीन हजार ५०० क्विन्टल चामलको कोटा थियो। त्यो मध्ये दुई हजार १०० क्विन्टल बिक्री भइसकेको र बाँकी ढुवानी भइरहेकाले असारसम्म कुनै समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेखराज ओझाले बताए।
बाहिर सर्वसाधारणले जति हल्ला गरे पनि चामलको अभाव नै नभइसकेको, अहिले चामल ढुवानी भइरहेको र बिक्री मात्र केही दिनका लागि रोकिएकाले खाद्य अभाव नभएको ओझाको भनाइ छ।
राहतसँगै गहुँबालीसमेत भित्र्याएको समय भएकाले खाद्य अभाव हुने र चामल नहुँदा हाहाकार नै हुने अवस्था नभएको खाद्य अधिकारका जानकारले बताउने गरेका छन्। क्वारेन्टिनका लागि पनि ठूलो मात्रामा चामल खरिद गरिएपछि डिपोमा कम भए पनि तत्काल ढुवानी हुने शाखाले बताएको छ।