सरकारलाई राप्रपाको आग्रह- अध्यादेश फिर्ता गर 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । सो पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिसमशेर जबरा र प्रकाशचन्द्र लोहनीद्वारा जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।

सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको विज्ञप्तिमा उल्लख छ। 'कोभिड(१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धिु दुई अध्यादेशहरु अनुपयुक्त,अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ', विज्ञप्तिमा उल्लेख छ, 'राजनीतिक दल सन्बन्धि अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो संभावना देखिन्छ। यसैगरी संवैधानिक परिषद सम्बन्धि अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिन्छ।'

राप्रपाले संभावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्य माथि आइपर्न सक्ने गंभीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरु फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गरेको छ। विज्ञप्ति भनिएको छ, 'कोरोना भाईरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई राप्रपा आग्रह गर्दछ।'
 

प्रकाशित मिति: : 2020-04-21 11:52:46

प्रतिकृया दिनुहोस्