विश्वभरी अहिले कोरोनाको त्रास छ। अधिकांश देश यतिखेर लकडाउनको चपेटामा परिरहेछ। यसै मौका पारेर समयको सदुपयोग गर्दै मैले साहित्यकार सानु शर्माको उपन्यास ‘अर्थ’ पढ्ने सौभाग्य प्राप्त गरेँ। २०६७ सालमा प्रकाशित उपन्यास ‘अर्थ’ झण्डै एक दशकपछि पढ्ने मौका जुर्यो। भन्छन् समयभन्दा अगाडि र समयभन्दा पछाडि केही पनि हुँदैंन। सायद मेरो लागि ‘अर्थ’ पढ्ने उपयूक्त समय यही नै थियो होला।
सानु शर्माको कथाहरू त मैले धेरै अगाडिदेखि नै पढ्दै आईरहेकी छु। म उनको कथाको प्रशंसक पनि हुँ। उनको अर्को उपन्यास ‘विप्लवी’, कथा संग्रह ‘एकादेशमा’ पढ्ने जो कोही पाठकलाई यो अनुमान लगाउन गाह्रो हुँदैंन कि सानु शर्मा साहित्य जगतकी दरिलो खम्बा हुन् जसलाई कुनै आँधीबेरीले डगमगाउन सक्दैन।
उनको यस उपन्यास ‘अर्थ’ ले साच्चै नै धेरै अर्थ बोकेको छ। यस उपन्यासकी मूख्य पात्र ‘जिया’ हुन्। जो बाल्यअवस्थादेखि नै हरेक कुरामा दृढ देखिन्छिन्। उनको आमा सावित्री र बुवा कृष्णकान्तले उनी जन्मदा नै छोराको आश गरेका थिए। जिया छोरा बनेर त जन्मिन सकिनन्। तर उनले यस उपन्यासमा देखाएकी कदम कुनै छोरा मान्छेको साहसभन्दा कम छैनन्। आफू छोरी भएर जन्मेकै कारण आफ्नो बुवा कृष्णकान्तको कहिल्यै माया महसुस गर्न सकिनन्।
यद्यपी कृष्णकान्तले आफू मृत्यूको मुखमा पुग्नु अगाडी आफ्नी छोरीलाई छोराकै उपनाम दिएर सबै जिम्मेवार सुम्पिएर यस धर्तीबाट बिदा हुन्छन्।
आफ्नो बुवाको मृत्यूपछि उनले आफ्नो नामको पछाडी कान्त जोडेर आफ्नो नाम ‘जियाकान्त’ राख्छिन्। जियाकान्तको संर्घष निकै कठीन र भयानक भएपनि उनका कदमहरु कहिल्यै डगमगाउदैनन्। बुवाको मृत्यूपछि आफूभन्दा पछि जन्मेका तीन साना साना बहिनीहरु मनिषा, मिता, मानीको ख्याल राख्नु उनको जिम्मेवारी बन्यो। उनकी आमा सावित्री छोरो पाउने आशमा आफ्नो स्वास्थ्य नै जोखिममा राखेर पाँचौपटक गर्भवती हुन्छिन्। तर आफूले आशा गरेको पाँचौ सन्तान पनि छोरी नै भएपछि सावित्रीको मन नै क्षतविक्षत हुन्छ र उनले आफ्नो मानसिक सन्तुलन गुमाउँछिन्।
यस उपन्यासमा त्यस्ता थुप्रै पात्र छन् जसले उपन्यासलाई अझै रोचक बनाएको छ। जयन कुँवर यस उपन्यासको अर्को मूख्य पात्र हुन्। सानै देखि संगै पढेका जिया र जयनलाई समयले निकै बर्ष बिछोड गराईदिएको छ। ‘जयन’ पात्रले उपन्यासमा सुगन्ध भर्ने काम गरेको छ। ‘जिया’ हुन त छोरी हुन् तर उनको संर्घष, साहस र हिम्मतहरु कुनै छोराभन्दा कम छैनन्। आफूपछि जन्मेका आफ्ना चार बहिनी र अस्वस्थ्य आमालाई लिएर उनी भौतारिरहिन्छन्।
उनी घुम्दै फिर्दै साहरा नामक संस्थामा पुग्छिन्। साहराले जिया, जियाकी आमा र जियाकी बहिनीहरुलाई साहरा दिन्छ। सहाराकी संञ्चालक अनुपमाले जियाको साहस र आत्माबलको सम्मान गर्छिन्
सानै उमेरमा निकै हण्डर खाईसकेकी जियाले बल्ल बल्ल आफ्नो बस्ने ठाउँको टुंगो लागेपछि कामको खोजीमा घुम्दै फिर्दै अर्थ पब्लिकेशन पुग्छिन्। अर्थ पब्लिकेशनको आदेश नेपालसंगको भेटपछि जियाको जीवनले नयाँ मोड लिन्छ।
अर्थ पब्लिकेशनसंग जोडिदा जोडिदैं आदेश नेपाल तथा उनकी श्रीमती अदिती नेपालसंग जियाको यति घनिष्ठता बढ्छ कि उनीहरु एकै परिवार झैं बन्छन्।
उपन्यासका त्यस्ता धेरै पात्र छन् जो बिना उपन्यास साच्चै नै अधुरो हुन्छ। दिलबहादुर, हेमा, आशी, अनुपमा लगायतका पात्रहरुले भिन्नै रंग भरिदिएका छन् कथामा।
आदेशको असामायिक निधनले पढिरहेको पाठकलाई नराम्रोसंग झस्काउँछ। पाठकको अनुमानभन्दा निकै पृथक छ ‘अर्थ’ ले बोकेका कथाहरु। उपन्यासमा विनितको आगमनले धेरै अर्थ बोकेको छ। जियाका शुभचिन्तक सबैले उसको बाँकी जीवन विनितसंग व्यतित होस् भन्ने चाहन्छन्। मनभरी जयनको लागि माया भए पनि जिया सबैको ईच्छा अनुरुप वनितसंग विवाह गर्न राजी हुन्छिन्। तर उपन्यासको अन्त्यमा भने निकै बर्षपछि जिया र जयनको भेट हुन्छ।
‘अर्थ’ पढुञ्जेल आँखा ओभानो रहन सकेन। कतिपटक हिक्का छोडेर राएँ। कतिपटक जियाको खुशीले मन प्रफुल्लित पनि बनायो। साच्चै अर्थ ले गहिरो अर्थ बोकेको छ जुन सम्पूर्ण पाठकले जान्न जरूरी छ।