मोरङका भिन्दाभिन्दै ठाउँमा भएका दुर्घटनामा चार जनाको मृत्यु 

मोरङका भिन्दाभिन्दै ठाउँमा भएका सडक दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

ग्रामथान गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा को ६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा पैदल यात्रु ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ।

दुर्घटनामा परेर घाइते भएका ग्रामथान –३ का माझीको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारले बताए । चालक २० वर्षीय चन्द्र मिर्गा फरार रहेको जानकारी उनले दिए । 

त्यस्तै कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ तिरुपति पेट्रोल पम्प अगाडि आइतबार दिउँसो को ३७ प ९५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । पोदारका अनुसार साधुको भेषमा पैदल यात्रा गरिरहेका बेला उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले अन्दाजी ६०÷६५ वर्षीय वृद्धलाई ठक्कर दिएर घाइते बनाएको थियो । 

पहिचान नखुलेका वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको पोदारले बताए । मोटरसाइकल चालक सुनसरीको दुहवी नगरपालिका–१ का २८ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन् । चौधरीको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यता जहदा गाउँपालिका– ५ स्थित भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । को ३७ प ९७४३ र को १२ प ६२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ९७४३ का चालक जहदा–५ का २५ वर्षीय वीरेन्द्र मण्डलको मृत्यु भएको हो । 

दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा आइतबार बिहान ११ बजे विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि को १२ प ६२२ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । 

यसै गरी मोरङको रतुवामाई नगरपालिका–१ स्थित भित्री सडक खण्डमा शनिबारराति रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

प्रहरी निरीक्षक पोदारका अनुसार सडकमा रोकेर राखेको को २ त २८०० नम्बरको ट्याक्टरमा को २७ प ४६५० नम्बरको मोटरसाइकल पछाडिबाट आएर ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय अवित मियाँको उपचारका क्रममा राति ११ बजे रंगेली अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति: : 2020-02-17 03:00:07

प्रतिकृया दिनुहोस्