वरिष्ठ साहित्यकार चुडामणी रेग्मीलाई इन्जा श्रष्टा सम्मान
नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित यस वर्षको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहले संयुक्त रुपमा प्राप्त गरेका छन्।
१ हजार अमेरिकी डलर राशीको सो पुरस्कार पत्रकार ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र पत्रकार सिंहको हिमाल खवरपत्रिकामा प्रकाशित ‘कुपोषित वाजुरा’ शीर्षक आलेखले प्राप्त गरेका हुन्।
सन् २०१९ भरीमा प्रकाशित ३ सय ५१ वटा समाचार तथा फिचर प्रतिश्पर्धामा सामेल थिए। वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनोट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखले वरावर नम्वर प्राप्त गरेकोले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय भएको हो।
पत्रकार ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सो सम्वन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतिहरुको चित्रण गरिएको छ।
छाउपडी विरुद्धमा सक्रिय रुपमा कलम चलाउँदै आएकी ढुंगानासँग आफैं पनि छाउपडीमा बसेको तीतो अनुभव छ।
पत्रकार सिंहको ‘कुपोषित वाजुरा’ शीर्षक आलेखमा वाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्छ।
यसैगरी १ हजार डलर राशीको यसवर्षको इञ्जा श्रष्टा सम्मान पुराना पत्रकार, वरिष्ठ साहित्यकार तथा प्राध्यापक ८५ वर्षीय चुडामणी रेग्मी (चुमरे) लाई प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन्। झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशन समेत गरेका थिए।
आफ्नो जीवनको अधिकांश समय साहित्यिक गतिविधिमा विताएका उनले झापाबाट चर्चित भएका धेरै साहित्यकारहरुलाई प्रोत्साहित गर्न जुहीले अत्यन्त महत्वपूर्ण भूमिका खेलेका थिए।
ईञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्विका गुरुङ र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।
सो पुरस्कार तथा सम्मान आगामी मार्च १, २०२० मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको छ।