बाक्लाे कुहिराेले त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित

त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ। बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

अहिले काठमाडौंसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेको छ। जसको कारण विमानस्थलको भिजिविलिटी ५० मिटर मात्रै रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। काठमाडौं आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हट्ने मौसमविद्हरुले जनाएका छन्। तर कार्यलयले भने उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने बताएको छ।

यसैबीच नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गइहेको छ। देशभर आंशिक देखि सामान्य बदली भई १/२ स्थानहरुमा वर्षा र हिमपात भईरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्। 

उनका अनुसार शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने छ।  शनिबार एकैछिन पानी परेर रोकिने उनले बताइन्।

अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ। काठमाडौं आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हटे पनि तराईमा लागेको हुस्सु हट्न समय लाग्ने मौसमविद् कँडेलको अनुमान छ।

गएको २४ घण्टामा देशभरी नै पानी परेको छ। सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै  केहि उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु सर्वसाधारणहरुलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: : 2020-01-18 20:48:03

प्रतिकृया दिनुहोस्