काठमाडौंको राष्ट्रियसभा गृहमा भुकम्प सुरक्षा प्रदर्शनी—२०७६ सुरु भएको छ। २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसर पारेर बिहिबार काठमाडौको राष्ट्रियसभा गृहमा भुकम्प सुरक्षा प्रदर्शनी—२०७६ को आयोजना गरिएको हो।
प्रदर्शनीमा विपद उद्धार सामग्रीको प्रदर्शन गरिएको छ। उक्त सुरक्षा प्रदर्शनीको गृहमन्त्री रामबहादुर थापाले उदघाटन गरे। उद्घाटनपछि गृहमन्त्री थापाले उक्त प्रदर्शनी कक्षको अवलोकन समेत गरेका थिए। काठमाडौ महानगरपालिका,सहरी विकास तथा भवन निर्माण विभाग, नेपाली सेनाको विपद व्यवस्थापन तालिम शिक्षालय, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो।
प्रदर्शनीमा सुरक्षा निकायले आगलागी, भुकम्प जस्ता विपत्तिबाट कसरी बच्ने भन्ने बारेमा जनचेतना प्रदान गरिरहेको छ। त्यसका साथै खोज तथा उद्धार कार्यमा आवश्यक सामग्रीहरु पनि प्रद्रर्शनीमा राखिएको छ। शहरी विकास तथा भवन निमार्ण विभागमाका अनुसार भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी तथा सरक्षित भवन निर्माण लगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचारप्रसार गर्नका लागि भुकम्प सुरक्षा प्रदर्शनी आयोजना गरिएको जनाइएको छ।
शनिबारसम्म चल्ने प्रदर्शनीमा प्रत्येक दिन २ बजेपछि नेपाल आमी, नेपाल प्रहरी लगायत सरोकारवाला संघसंस्थाले भूकम्पबाट बच्न अपनाउनुपर्ने सुरक्षाका उपायहरु समेटिएका विशेष प्रस्तुतीहरु समेत देखाइने छ।