भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जना पक्राउ

६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा

सांकेतिक तस्बिर

नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका ४२ वर्षका आनन्द लामा रहेका छन्।

चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा बुधबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले नियन्त्रणमा लिएको हो।

भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

'कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ' उनले भने। उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरी श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-15 19:32:19

प्रतिकृया दिनुहोस्