क्षतिपूर्तिको माग गर्दै सडक बन्द,यात्रु मर्कामा

फाइल तस्बिर

तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा गत शुक्रबार बस दुर्घटनामा ज्यान गुमाएका तथा घाइते भएका परिवारले सोमबार भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन्।

भीमाद नगरपालिका–६ स्थित बजारमा क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पुर्याएका हुन्।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नम्बरको बस अनियन्त्रित भई सडकबाट खस्दा २ जनाको मृत्यु भएको थियो भने २२ जना यात्रु घाइते भएका थिए।

मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ मा बस्ने २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका–३ मा बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेका थिए।

पीडित परिवारले उक्त दुर्घटना घटेको चार दिन बितिसक्दा पनि यातायात समितिका तर्फबाट क्षतिपूर्ति नआएको भन्दै बाटो बन्द गर्दा भीमाद बजार हुँदै ऋषिङ, घिरिङ, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँ जाने यात्रुहरु मर्कामा परेका छन्।

इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले यातायात समितिका सम्बन्धित व्यक्ति आइसकेकाले क्षतिपूर्तिका बारेमा छलफल भइरहेको जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-14 00:25:15

प्रतिकृया दिनुहोस्