लागुऔषध मुद्दामा फरार रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ३१ वर्षीय कृष्ण दर्जी दर्नाल पक्राउ परेका छन् ।
तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७३ साल माघ २८ गते दर्नाललाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो । ४५ दिन कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाए पनि उनी फरार थिए । फरार रहेका दर्नाललाई पक्राउ पक्राउ गरेर आइतबार अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।
अदालतले जरिवाना वापतको रकम असुल गरेर दर्नाललाई छाडिदिएको छ । तोकिएको कैद सजाय भने अनुसन्धानका क्रममा प्रहरी हिरासतमा बसिसकेको पाइएको छ ।
पुनरावेदन अघि जिल्ला अदालत मोरङले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो आदेशसँगै धरौटी रकम बुझाएर छुटेका उनी पुनरावेदनले जिल्लाको आदेश उल्टाउँदै कैद र जरिवानाको फैसला सुनाएपछि भने फरार रहेको प्रहरीले जनाएको छ ।