अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेविरुद्ध मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेछ।
नक्कली प्रमाणपत्र पेश गरी शिक्षण पेशामा संलग्न रहेको भन्ने उजुरीको आधारमा वाग्लेलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा वाग्लेले नक्कली प्रमाणपत्र पेश गरी २०५६ साल मंसिर १० गते प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिई २०७५ साल चैत्र ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।