आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन्।
'क्रिसमस डे'का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई बुधबार सार्वजनिक बिदा दिएको छ।
सम्वत् २०७६ सालभरको सार्वजनिक विदाबारे जानकारी दिन सम्वत् २०७५ चैत १ गते प्रकाशित राजपत्रकाअनुसार पुस ९ गते बुधबार इसाई धर्मावलम्बीहरुका लागि मात्र भनेर सार्वजनिक विदा दिइएको छ।
क्रिसमसलगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित् धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ।
इशाई धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ। क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ।
नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ।
काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थानमा आज विशेष कार्यक्रम हुँदै छ। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ।
येशूले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ।