सीमा विवाद: भारतले जबाफी पत्र पठायो

भारतले कालापानीलाई आफ्नो भूभागमा समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादलाई सम्बोधन गर्न र समाधान खोज्‍न तयार रहेको भन्दै नेपाललाई कुटनीतिक नोट पठाएको छ।

भारतले कालापानीलाई आफ्नो भूभागमा समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि उच्चस्तरमा वार्ता गर्नका लागि नेपालले पत्र पठाएको एक महिनापछि भारतले जवाफ स्वरुप कुटनीतिक नोट पठाएको हो। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको संचारकर्मीसँग पुष्टि गरेका छन्। तर कस्तो व्यहोराको पत्र आएको भन्‍नेबारेमा परराष्ट्रमन्‍त्री र मन्‍त्रालयले पनि औपचारिक रुपमा केही खुलाएका छैनन्।

नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा 'कालापानी-सुस्ता क्षेत्रको समस्या समाधानका लागि भारत तयार रहेको' उल्लेख छ। पत्रमा आपसी समझदारीमा उपयुक्त समयमा वार्ता गर्न सकिने व्यहोरा उल्लेख छ। 

नोभेम्बर २ मा भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि सिमा विवाद फेरि चर्किएको थियो। भारतले जारी गरेको नयाँ नक्शामा  लिम्पियाधुरा र लिपुलेकलाई पनि आफ्नो भूभागको रुपमा समेटिएको छ।

प्रकाशित मिति: : 2019-12-25 02:29:53

प्रतिकृया दिनुहोस्