१३ औं सागमा ३२ सय ९ खेलाडी २६ खेलमा प्रतिश्पर्धा गर्दै

बिएल

आगामी महिना नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग)मा खेल्ने खेलहरूको टुंगो लागेको छ। सार्क राष्ट्रका अफगानिस्तानबाहेक ७ वटै राष्ट्रले सहभागी जनाउने प्रतियोगितामा नेपालले मात्र सबै २७ वटै खेलमा भाग लिने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार बंगलादेश र श्रीलंकाले समान २५–२५ खेलमा सहभागिता जनाउने पक्का भएको छ।

नेपाल ओलम्पिक कमिटीमा दर्ता गरिएको खेलको सूचीमा बंगलादेशले प्याराग्लाइडिङ र ट्राइथलनमा नखेल्ने भएको छ। यस्तै श्रीलंकाले बक्सिङ र प्याराग्लाइडिङमा नखेल्ने भएको छ ।

सागमा सबै भन्दा कम खेलमा सहभागिता जनाउने देशमा माल्दिभ्स छ। उसले ११ खेलमा मात्र भाग लिने भएको छ । यस्तै भारतले १७, पाकिस्तान १८, भुटान १४ खेलमा भाग लिने भएका छन्।

भारतले क्रिकेट, आर्चरी, गल्फ, कराँते, कबड्डी, प्याराग्लाइडिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, रेस्लिङमा नखेल्ने भएको छ ।

यस्तै माल्दिभ्सले आर्चरी, बक्सिङ, साइक्लिङ, फेन्सिङ, गल्फ, जुडो, कराँते, कबड्डी, प्यााग्लाइडिङ, खोखो, स्क्वास, तेक्वान्दो, ट्राइथलन, भारत्तोलन, रेस्लिङ र उसुमा नखेल्ने भएको छ ।

पाकिस्तानले आर्चरी, फुटबल, फेन्सिङ, साइक्लिङ, क्रिकेट, जुडो, खोखो, प्याराग्लाइडिङ र ट्रायथलनमा भाग नलिने भएको छ ।

भुटानले फेन्सिङ, साइक्लिङ, खोखो, प्याराग्लाइडिङ र ट्रायथलन,ह्याण्डबल, कबड्डी, पौडी, स्क्वास, टेबलटेनिस, भलिबल, उसु र रेस्लिङमा नखेल्ने भएको छ ।

प्याराग्लाईडिङको नहुने

टिम संख्या नपुगे पछि प्याराग्लाईडिङको खेल नहुने भएको छ ।

आयोजक नेपाल मात्र प्याराग्लाईडिङ खेल्न तयार भएपछि सो खेल नहुने भएको हो।

नेपालले प्याराग्लाईडिङमा पदकको ठूलो आशा गरेको थियो। अब १३ औ सागमा मात्र २६ खेलहरु सञ्चालन हुनेछन्।

३२ सय ९ खेलाडी 

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशबाट ३२ सय ९ खेलाडी सहभागी हुने भएका छन्।

आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् ले जनाएको छ ।

अफगानिस्तान नखेल्ने

अफगानिस्तानले मार्सल आर्टको विधामा सहभागी हुन नपाउने भएपछि १३ औं साग नखेल्ने भएको छ।

मध्यपूर्वी एसिया छाड्दै दक्षिण एसियामा फर्कने निर्णय गरेको अफगानिस्तानले १३ औं सागमा सहभागीताका लागि पत्राचार गरेको थियो ।

एसियन ओलम्पिक काउन्सिलले समेत अफगानिस्तानलाई सागमा सहभागी गराउन दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई आग्रह गरेको थियो। तर, आयोजक नेपालले मार्सल आर्ट बाहेक अन्य खेलमा मात्र सहभागी गराउने बताएपछि अफगानिस्तान पछाडि हटेको हो।

कुन देशले कुन खेलमा सहभागी हुने

प्रकाशित मिति: : 2019-11-08 19:01:46

प्रतिकृया दिनुहोस्