विराट नर्सिङ हाेम तनाव: सुत्केरीको मृत्युपछि प्रदर्शन र नारावाजी, शव बुझ्न अस्वीकार

तस्बिरः बिएल

सुत्केरी महिलाको मृत्यु भएपछि आफन्त र परिवारका सदस्यले गरेको प्रदर्शनका कारण विराटनगरको विराट नर्सिङ होम तनावग्रस्त बनेको छ।

शव बुझ्न अस्वीकार गर्दै शुक्रबार बिहान ११ बजेदेखि प्रदर्शन थालिएको हो। शल्यक्रिया गरेर पाठेघर फ्यालेकी सुत्केरी सुनसरीको दुहवी नगरपालिका–८ रनी गाउँकी २० वर्षीय रमिला कार्की घिमिरेको बिहीबार साँझ ७ बजे मृत्यु भएको हो। चिकित्सकको लापरबाहीका कारण घटना भएको भन्दै आफन्त र परिवारका सदस्यले शव बुझ्न मानेका छैनन्।

उनीहरुले शल्यक्रियामा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र घटनाको छानबिन हुनु पर्ने माग राखेका छन्। दोषी चिकित्सकलाई कारबाही नभएसम्म शव नउठाउने अडान आफन्तको छ। मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। 

रमिलालाई प्रसूति व्यथाले च्यापेको भन्दै यही १२ गते मंगलबार बिहान बूढीगंगा गाउँपालिकाको टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो।

सामान्य अवस्थामै उनले पहिलो सन्तानका रुपमा बिहान ८ बजे छोरा जन्माइन् । तर तीन घण्टासम्म रक्तश्राव रोकिएन। चिकित्सकले रक्तश्राव रोक्नका लागि शल्यक्रिया गरेर पाठेघर फ्याल्नु पर्ने सुझाव दिए।

रमिलाका श्रीमान भूपाल घिमिरेले चिकित्सककै भनाइमा सहमत हुँदै शल्यक्रिया गर्न आफूहरु तयार भएको बताए। उनले दिउँसो ३ बजे शल्यक्रिया सफल भएका कारण अहिले अवस्था सामान्य रहेको र होस चार घण्टापछि फर्किन्छ भनेर जानकारी दिइए पनि भोलिपल्ट बुधबार दिउँसोसम्म होस नफर्किएको बताए।

त्यसपछि चिकित्सकले नै टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा लगेको उनको भनाइ छ। ‘रक्तश्राव नरोकिए पनि बच्चा जन्माइसकेपछि जाउलो, जुस र दाल खाएकी सुत्केरी श्रीमती राम्ररी बोल्न सक्ने अवस्थामै थिइन्,’ उनले भने, ‘तर चिकित्सकले पाठेघर नफ्यालेसम्म रक्तश्राव रोकिंदैन भने।’ जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा लगेर राखेको उनले बताए।

शल्यक्रियापछि अवस्था गम्भीर बनेकी आमालाई नर्सिङ होममा भेन्टिलेटरमा लगेर राखिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ७ बजे उनलाई चिकित्सकले मृत घोषणा गरे। उनले जन्माएको नवजात शिशुको पनि मृत्यु भइसकेको छ। ‘श्रीमतीले बिना शल्यक्रिया सामान्य अवस्थामै बच्चा जन्माइन्,’ भूपालले भने, ‘तर अहिले आमा र बच्चा दुवै रहेनन्।’

उनले बिरामी थप सिकिस्त बन्दै गएको भनेर चिकित्सकले नै उपचारका लागि अर्को अस्पताल पुर्याएको बताए। शल्यक्रिया सफल भएको र चार घण्टापछि होस आउँछ भनेर भनिएकी सुत्केरीको मृत्यु हुनुमा चिकित्सककै लापरबाही रहेको भूपालले बताए। अस्पतालका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेर सुत्केरीको पाठेघर फ्यालिदिएको थियो।

सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको रमिलाकी जेठानी सुनैना घिमिरेले बताइन्। उनका अनुसार शल्यक्रियापछि रमिलालाई ११ पिन्ट रगत पनि चढाइएको थियो।

‘हामीले बिरामीको अवस्था सोध्दा चिकित्सकले नै रिसाउने, झ्वाँक्किने र हप्काउने जस्ता निच व्यवहार गरे,’ सुनैनाले भनिन्, ‘नरिसाउन आग्रह गर्दा तँ जस्ता ५० जना त मेरोमा स्वीपर छन् सम्म भने।’ सामान्य अवस्थामा बच्चा जन्माए पनि पाठेघर फ्याल्नलाई शल्यक्रिया गर्दा लापरबाही भएको उनको भनाइ छ।

‘रक्तश्राव नरोकिएका कारण त्यसलाई रोक्न सुत्केरीको पाठेघरलाई शल्यक्रियामार्फत बाहिर निकाल्ने र रगतका नशालाई बाँध्ने एउटै उपाय हामीसँग थियो,’ डा. कार्कीले भने, ‘मान्छे बचाउन पनि शल्यक्रिया गरेर पाठेघर फ्याल्नै पर्ने अवस्था आयो।’

शल्यक्रियामा कुनै लापरबाही नगरिएको बताउँदै उनले अत्यधिक रक्तश्रावले कति असर गर्यो भन्ने कुराको कुनै भेउ पाउन नसक्दा यस्तो अवस्था आएको हुन सक्ने उल्लेख गरे।

सुत्केरीको उपचारका लागि उपनाउनु पर्ने सबै विधि अपनाउँदा पनि केही नलागेपछि अन्तिम विकल्पका रुपमा शल्यक्रियालाई रोजिएको कार्कीको भनाइ छ। ‘धेरै प्रयास गरेर पाठेघर फ्यालेपछि रक्तश्राव चैं रोकियो,’ उनले भने, ‘तर सक्दो कोशिस गर्दा गर्दै सुत्केरीलाई बचाउन भने सकिएन।’



 

प्रकाशित मिति: : 2019-11-01 13:59:28

प्रतिकृया दिनुहोस्