धेरै नेपालीले पानीजहाज चढ्ने सपना बोकेर बसेका छन्। तर, पानीजहाज चढ्ने नेपालीको सपना कहिले पुरा होला? यो प्रश्नको उत्तर अझै पनि भविष्यको गर्भमै लुकेको छ।
गत वर्षको फागुन २ गते ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य कार्यक्रम बिच पानीजहाज कार्यालयको स्थापना गरे। कर्मचारीसमेत भर्ना गरे।
कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजाबाहक पानीजहाज छिट्टै सञ्चालनमा आउनेसमेत दाबी गरे। 'पानीजहाज कार्यालय जागिर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भनेका थिए, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान्। तर, केही महिना पर्खनुस्। टिकट पाइन्छ।’
नेपालमा पानीजहाज चलाउने भनेर पानीजहाजको कार्यालय स्थापना गरियो। आजसम्म आइपुग्दा पानीजहाज कार्यालयले मस्यौदा तयार पारेर मन्त्रालयलाई बुझाएको छ। साथै पानीजहाज चलाउनको लागि नारायणी नदीमा सम्भाव्यता अध्ययनसमेत भइसकेको छ।
पानीजहाज कार्यालयले ‘एकीकृत नेपाल पानीजहाज ऐन २०७६’ बनाएर मन्त्रालयमा पेश गरेको हो। कानुन मन्त्रालयले हेरफेर गरेपछि संसदमा लगिने र संसदबाट ऐन पारित भएपछि पुनः एकपटक विशेषज्ञको साथमा छलफल गरेर पानीजहाज कार्यालयले काम अगाडि बढाउने तय भएको थियो।
‘ऐन कानुन बिना केहि सम्भव छैन, गत साउन २९ मा पानीजहाज कार्यालयले मन्त्रालयमा एकीकृत नेपाल पानीजहाज ऐन २०७६ पठाएको छ, हेरफेर गरेर ४५ दिनमा मस्यौदा पास हुनुपर्छ भनेका छौँ,’ पानी जहाज कार्यलयका सूचना अधिकारी बल्लव विष्टले भने।
‘पानी जहाज चढ्ने रहरले नै विदेश गएको बेला पानीजहाज चढेँ,’उनले भने, ‘वि.सं २०२७ सालको ऐनलाई हेरेर पानीजहाज कार्यालयको स्थापना भएको हो।’
मन्त्रालयबाट स्वीकृत भएलगत्तै पानीजहाज सम्बन्धी काम अगाडि बढाइने पनि विष्टले बताए।
पर्यटन विभागको अनुमतिमा चितवनमा राइनो कम्पनीले दुई सय जना सिट क्षमताको दुईतले पानीजहाज निर्माण गरिरहेको छ। अन्तर्राष्ट्रिय मान्यता र नीति नियम अनुसार जहाज निर्माण भइरहेको बिष्टले बताए ।
‘हिउँद याम र वर्षा यामका लागि छुट्टा छुट्टै जहाँज बनाउने योजना रहेको छ,’ विष्टले भने।
वर्षा याममा नदिमा बाढी आउँछ। पानीको सतह कहिले माथि र कहिले तल हुन सक्छ। बगाएर ल्याएका बिभिन्न सामाग्रीले जहाजमा असर गर्छ। तिनै समस्यालाई समाधान गर्नको लागि हिउँद र वर्षा दुवै याममा चल्ने छुट्टाछुट्टै पानी जहाज बनाउने योजना कार्यालयले बनाएको छ।
‘यो समुन्द्र होइन नदी हो, भौगोलिक हिसाबमा नदिका सबै ठाउँ मिलेका हुँदैनन्। कहाँसम्म कति क्षमताको जहाँज लान मिल्छ भन्ने सम्भाव्यता अध्ययन गरिरहेका छौँ,’ विष्टले भने ।
केही समय अगाडि मात्र गरेको सम्भाव्यता अध्ययनमा नारायणीको आठ किलोमिटरमा मात्र २०० जना सिट क्षमताको पानी जहाँज चलाउन मिल्ने ठाउँ भेटिएको अध्ययनको ठहर छ।
सबै क्षेत्रमा २०० सिट क्षमताको पानीजहाज चलाउन नमिल्ने भएकोले अन्य ठाउँमा क्षमता अनुसारको पानी जहाँज बनाएर चलाउने योजना रहेको पनि विष्टले बताए।
वैदेशिक ब्यापार घाटामा कमी, समयको बचत, पैसाको बचत र विशेष गरेर ढुवानी खर्चमा कम पानीजहाज आइसकेपछिका फाइदाहरु हुन् यी।
पानीजहाज कार्यालय उद्घाटन भएको ६ महिना भइसकेको छ। पानीजहाज कार्यालयमा १६ जना कर्मचारी दरबन्दीमा छन्। अहिले १ रजिस्ट्रार, २ इञ्जिनीयर, १ कानुन अधिकृत र सहायक स्तरका २ कर्मचारी सहित ६ जना कर्मचारीहरुको पद रिक्त छ ।
महिनामा ३ लाख ९८ हजार रकम कर्मचारीको तलबमा खर्च हुन्छ ।
पानीजहाज कार्यालयको भवन सरकारी भवन हो। पहिला सडक विभागले यसको प्रयोग गरेको थियो। पछि नियन्त्रीक अफिसले प्रयोग गर्यो। नियन्त्रिक अफिस नुवाकोटमा सरुवा भएपछि एउटै भवनबाट अहिले चक्रपथ सुधार आयोजनाको कार्यालय र पानी जहाँज कार्यालयले काम गरिरहेको छ।