काठमाडौको हाँडीगाँउमा सोमबारबाट हाँडीगाँउ जात्रा सुरु भएको छ। कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट तीनदिनसम्म यो जात्रा मनाउने गरिन्छ। यो जात्रा काठमाडौँका अरु जात्रा भन्दा फरक हुन्छ।
रथको गजुर तलपारी गर्भगृह र भगवानको मुर्ति माथि राखेर रथको निर्माण गरिन्छ। भगवान राखिएको गर्भगृहलाई तलबाट घुमाउने गरिन्छ। साथै रथमा मैनको सुगन्धित फुल बनाई राख्नाले पनि यो जात्रालाई कहिँ नभएको जात्रा हाँडी गाउमा भन्ने गरिन्छ। जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ भने रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भिड लाग्ने गर्दछ। यो फूललाई प्रसूतिपीडामा रहेकी महिलालाई सुघाउदा पीडा कम हुने पुरानो विश्वास पनि छ।
जात्रा परापूर्वकालमा त्यहाका राजाको छोरी राजकुमारीले सत्यनारायणको अपहेलना गरेकोले राजकुमारीले १४ वर्षसम्म सुत्केरी हुन नसकेकोले यो जात्रा गरेपछि सुत्केरी भएको भन्ने कथन छ।