जहाँ अझै पनि राज्य स्थापनाको खुसियालीमा सराएँ नाँच नाचिन्छ (भिडियो)

तस्बिरः बिएल

सराएँ नाँच पश्चिम नेपालमा दशैंको समयमा खेलिने खेल हो। विशेष पर्वका दिन मन्दिर, कोटीभित्रका खुकुरी खड्ग, तरबार आदि हतियार हातमा लिएर नचाउँदै-लडाउँदै बाजाका तालमा नाचिने एक प्रकारको सांगीतिक खेल हो।

विजय यात्राको रुपमा निकालिने हुनाले यसलाई शब्दकोशले लेखेझैँ जात्रा भन्ने गरिन्छ। तर, त्यहाँको मानिसहरुले जात्रा नभनी सराएँ खेल वा सराएँ खेल्ने भन्छन्।

सत्रुलाई संहार गरेपछि ज्यान मर्काउँदै र फन्काउँदै रगत लतपतीएका हतियारहरु प्रदर्शन गरि नृत्य देखाउने गरिन्छ।

यो नाचमा नौमती बाजा बजाएर जोसिलो धुनमा अभिनय गर्दौ पिठ्युँ जोड्दै छड्के हात पारेर हतियार जुधाउँदै नाचिन्छ। त्यसैले यस नाचलाई धेरै मान्छेहरु सराएँ खेल भन्न रूचाउँछन्।

अर्घाखाँचीको महत्वपूर्ण स्थानमा रहेको अर्घा मन्दिरलाई विशेष रूपमा लिइन्छ। किनकि, पूर्णिमाका दिन वा सोही राति चन्द्रको रोशनीमा खेलिने सराएँ अर्घाको ठकुरी राज्यका संस्थापक राईले आफ्नो राज्य स्थापनाको खुसियालीमा खेलाउन थालेको पाइन्छ।

खुसियालीमा खेलाउन थालेको सराएँ क्रमशः धन्चौर पाकु, धुर्को, खाँची, प्युठान, भित्रीकोट, इस्मा पाल्पा, मुसिकोट, गलकोट आदि राज्यहरुमा फैलिदै गएको पाइन्छ।

स्थानीय, झुमे, टाकुरे भुरे वा मुखिया राजालाई हराएर अर्घाको टाकुरामा झण्डा गाडी आफ्ना लडाकु सहिद बसेर राज्य गर्न थाले। त्यही सम्झना स्वरूप त्यो दिनलाई विजयोत्सवको रूपमा हतियार देखाउँदै र जुधाउँदै सराएँ खेलाउन दहि र केरा बाँढेर लडाकु खेलाडीहरुलाई प्रोत्सान गरे।
त्यसपछिका राजाहरुले पनि त्यो चलनलाई निरन्तरता दिएर परम्परामा बसालेका थिए।

सराएँ खेलमा खेलाडीको संख्या यति हुनुपर्छ भन्ने छैन। यो गीत भन्दा पनि संगीतप्रधान नृत्य खेल हो। सराएँ खेल अर्घाखाँची, गुल्मी प्युठान, पाल्पा, बाग्लुङ आदिमा प्रायजसो पूर्णिमासम्म खेल्ने चलन छ।

बडा दशैदेखि विभिन्न कोट-थुममा आलोपालो गरेर सराएँ खेल्ने गरिन्छ। कुनै-कुनै ठाउँमा महाष्टमीकै राति ‘कालरात्रिको पूजा सम्पन्न गरेपछि सराएँ खेलेर नवदुर्गा विर्सजन गर्ने चलन पनि रहेको छ।

सराएँका विभिन्न सुर-ताल हुन्छन्। छोटो ताल कोट वा मन्दिरबाट विजययात्राको रूपमा प्रायः नवरात्रभरको फूलपाती सेलाउन निस्कँदा र मन्दिर परिक्रमा गर्दा ढाल, तरबार खुँडा, खुकुरी, ध्वजा डोला, चमर, कलश तथा आलमदेविका प्रतिक रातो झण्डामा लिङ्खाहरु प्रदर्शन गर्दौ खेलिन्छ।
गीतको टुक्रा 'खेल भाई हो', 'वाख्खै' पटक-पटक दोहोर्‍याइन्छ र लामो तालमा युद्व खेलेको रूपमा हतियार चम्काउँदै खेल मैदानमा वृत्ताकार वा अर्धचन्द्राकार धेरा बनाई नौमती बाजा अघि लगाएर बिस्तारै सर्दै सराएँ गीत गाउँदै खेल्छन्।

अर्घातिर संकलित सराएँको नमुना यस्तो छ- 

जय जय काली हो नवरथमाई वाख्खै।
महिषासुर जो हो ..... राच्छेसै मारी वाख्खै।
खेल भाई हो हो ......खेल न भाई हो वाख्खै।

अर्घा भगवती मन्दिर: अर्घा आफैं ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। यो मन्दिरसँग जिल्लाको इतिहास जोडिएको छ।

सन्धिखर्क नगरपालिका -९ अर्घामा अवस्थित रहेको छ। यो मन्दिर परिसरभित्रै अर्घाको कोट पनि छ। जहाँबाट चौबिसे राज्यमध्ये अर्घा राज्यका राजाले राज्य सञ्चालन गरेका थिए। यस ठाउँमा देवी, काली भैरव र भगवतीका मन्दिरहरु रहेका छन्। यस मन्दिरमा विजयादशमीको नौरात अवधिभर विशेष पूजा गरिन्छ। पूर्णिमा, चैते दशैं एवम् कृष्ण जन्माअष्टमीको दिनमा मेला लाग्ने गर्छ। मन्दिरको पश्चिमपट्टि केही पर सम्म मैदान छ।

सदरमुकामबाट ७ किलोमिटरको दूरिमा रहेको यो ठाउँमा भ्युटावर, होटल, रेस्टुरेन्ट लज धर्मशाला, पुस्तकालय सांस्कृतिक सङग्रहालय छन्।

प्रकाशित मिति: : 2019-10-14 14:35:30

प्रतिकृया दिनुहोस्