घरेलु हिंसा एक घातक अपराध

तस्बिरः वि नेपाली

घरेलु हिंसालाई एक प्रकारको घातक अपराध मानिन्छ। यो अपराधलाई प्रायः घर भित्र नै दबाईन्छ र धेरै कम मान्छेहरुले मात्र आफू पीडित भएको ब्यहोरा बाहिर ल्याउँछ्न्।

समाजमा डर र लाजका कारण घर भित्र दबाएका आवाजहरुलाई सार्वजनिक गर्न र अत्याचारका बिरूद्व एक हुन अमेरिकामा प्रत्येक वर्षको अक्टोबर महिनालाई घरेलु हिंसा सम्वन्धी जनचेतना मुलक क्याक्पिएनको आयोजना गरी मनाईन्छ।

घरेलु हिंसा र कारण

घर भित्र हुने हरेक हिंसा घरेलु हिंसा अन्तर्गत पर्छन्। दुई ब्यक्तिका बिच जब माया, सम्मान र सहानुभूतिको भावना समाप्त हुन्छ र घृणा, क्रूरतामा परिणत हुन्छ। त्यसपछि त्यो सम्वन्ध घरेलु हिंसामा समाहित हुन्छ। यसरी घरेलु हिंसा घर भित्रै दबाउनका लागि घर-परिवारको डर र समाजमा आफ्नो इज्जत जाने डर नै प्रमुख कारण रहेको मानिएको छ।

घरेलु हिंसा शारीरिक, यौनजन्य वा व्यवहारिक तीन वटै हुन सक्छ। यस अवस्थामा घरेलु हिंसा हुनुका कारणहरू बुझ्न अत्यन्त आवश्यक हुन्छ। अध्ययन र तथ्यांकका आधारमा हेर्दा घरमा पद, पैसा तथा भौतिक सुख सुविधाको बढ्दो प्राप्तीसँगै अधिकतम् घरेलु हिंसाका घटना घट्ने गरेको पाईएको छ। त्यस्तै धेरै पटक एक आपसमामा प्रतिस्पर्धा र बदला लिने भावनाले पनि घरेलु हिंसालाई निम्त्याउने गरेको पाईएको छ।

घरेलु हिंसा एक अपराध हो ता पनि यस सम्वन्धी घटेका घटना बाहिर ल्याईदैन। घर-परिवार र समाजमा आफ्नो इज्जत र साख गिर्ने डरले मान्छेहरु यस्तो अपराध सहेर घरबाट बाहिर ल्याउन नचाहेको देखिन्छ। यस्तोमा पीडित पक्ष प्रताड़ित भइरहन्छ र पीडा दिने पक्ष अझ हौसँदै थप पीडा दिने क्रुरतालाई जारी राख्छ।

आपसी सम्वन्धमा रहेका मान्छेको मनोविज्ञान अध्ययन गरेका विशेषज्ञका अनुसार गत केही वर्षदेखि यस किसिमका घटना तिब्र रूपमा बढेका छ्न्। विशेषज्ञका अनुसार दुई पार्टनर या जीवन साथीमा आपसी विश्वास्, भरोसा र मायाको भावनाको अन्त्य हुँदा घरेलु हिंसाले रुप लिन्छ।

हफिङ्टनपोष्टले गरेको एक अध्ययन अनुसार अफगानिस्तान र इराकमा सन् २००१ र २०१२ का बिच युद्वताका ६ हजार ४ सय अठासी अमेरिकी शैनिकको मृत्यु भएको छ।

सोहि अवधिमा वर्तमान वा पूर्व जीवनसाथीबाट मृत्यु भएका महिलाको संख्या ११ हजार ७ सय छैसठी छ। यो संख्या युद्वताका मृत्यु भएका शैनिकहरुको भन्दा करिव दोब्बर हुन आउँछ।

अमेरिकामा पीडित हुनेको संख्यालाई तुलना गर्दा अत्याधिक संख्याका महिलाहरू पीडित भएको पाईएको छ। हफिङ्टन पोष्टले गरेको अध्ययन अनुसार ८५ प्रतिशत महिलाहरु आफ्नो जिवनसाथी वा पार्ट्नरबाट घरेलु हिंसामा परेको छन् भने पीडित पुरूषहरु जम्मा १५ प्रतिशत मात्र छन्।

अमेरिकी नेपाली समाजमा घरेलु हिंसा बढ्दो

अमेरिकामा बसोबास गर्दै आएका नेपालीभाषीमा घरेलु हिंसाका घटना क्रमिक रूपले सुनिन थालिएको छ। डर र लाजले गर्दा पीडितले आफ्नो पीडालाई घर भित्रै सिमित राख्ने गरेकाले पनि घटना र पीडितको संख्या यकिन गर्न सकिएको छैन। त्यस्तै, व्यक्तिगत गोपनियताका कारण प्रहरी र अदालतसम्म पुगेका घटना र उजुरीहरुको तथ्याङ्क सार्वजनिक हुन सकेको छैन। जानकारका अनुसार अमेरिकाका नेपाली समाजमा समेत घरेलु हिंसा क्रमिक रुपले बढदो छ।

अमेरिकामा डकुमेन्ट बनाउने उद्धेश्य राखी गरिने कृतिम विवाह, कागजात नभएकाले कागजका लागि गर्ने प्रेम र विवाह, नयाँ ठाउँ र परिवेशमा स्थापित पार्टनरसिपको सम्बन्ध, सुखसयल, प्रतिस्पर्धा र अत्याधिक महत्वकांक्षाजस्ता कारणहरुबाट नै नेपालीभाषी समुदायमा घरेलु हिंसा बढ्ने गरेको घटनाहरु सुनिन थालिएको छ।

घरेलु हिंसाको प्रभाव:

घरेलु हिंसाको प्रभाव परिवार र समाजहुँदै सिङ्गो देशलाईसमेत पर्छ। परिवार समाजको एउटा अङ्ग हो र परिवारमा कलह हुँदा यसको ठाडो असर आफू बसेको समाजलाई पर्छ।

समाज भित्र कलह र बिग्रह हुँदा सिङ्गो देशलाई प्रभाव पर्छ। समाजमा प्रायः महिलाहरू मात्र घरेलु हिंसाको शिकार हुने हाम्रो बुझाई गलत हो, घरेलु हिंसा पुरूष बर्ग माथि पनि हुन्छ।

यदि कोही ब्यक्तीले आफ्नो जीवनकालमा घरेलु हिंसा झेलेको छ भने त्यस ब्यक्ति भित्र डर पस्छ र यसबाट उन्मुक्ति पाउन त्यस ब्यक्तिलाई अत्यन्त कठिन हुन्छ।

लगातार हिंसाबाट पीडित भएपछि उसको सोचमा नकारात्मक धारणा   हावी हुन्छ र पीडितलाई स्थिर अवस्थामा ल्याउन वर्षौसम्म लाग्ने मनोरोग बिज्ञ बताउँछ्न्।

घरेलु हिंसाको सबैभन्दा डरलाग्दो प्रभाव हो मानसिक आघात। यस प्रकारको अवस्थामा पीडितले मानशिक सन्तुलन गुमाउन पनि सक्छ वा एन्जाईटी तथा डिप्रेसन जस्ता मानसिक रोगको शिकार हुन पनि सक्छ।

मानसिक रोगको शिकार हुन पुग्नु घरेलु हिंसाको सबैभन्दा डरलाग्दो र दुःखद् अवस्था भएको विज्ञहरूको धारणा छ। जस माथि धेरै भरोसा गरिन्छ र जोसँग बसिन्छ त्यसबाट यसप्रकारको दुःख र तनाव प्राप्त हुन्छ। आपसमा स्थापित सम्वन्धमा विश्वास, भरोसा टुट्छ र पीडितले आफू एक्लो भएको महसुस गर्नपुग्छ।

यस्तो अवस्थामा पीडितले आफू यस धर्तीमा एक्लो भएको र उसको सहारा अन्य कोही नभएको महसुस गर्न पुग्छ। अत्यन्त तनाव र डरका बिच पीडितले आत्महत्याको बाटो रोजेको घटनाहरू सुनिन्छ्न्।

घरेलु हिंसा र हाम्रो कर्तब्य:

कुनै पनि प्रकारको घरेलु हिंसा, हिंसा नै हो र यो अपराधका विरूद्व सबैले समयमा नै आवाज उठाउन आवश्यक छ। घरेलु हिंसाका घटना विश्वभरी घट्ने गरेको हामीले सुन्दै आएका छौ।

यसमा काम गर्ने धेरै सामाजिक संस्थासमेत विश्वभरी फैलिएका छन्। घटनाका दोषिलाई कडा कारबाही र पीडित पक्षका लागि सक्दो सहयोग प्रदान गर्न सरकारी पक्षलाई दह्रो कानून बनाई लागू गर्नसमेत दवाबका आवाजहरू सुनिनु र त्यस अनुरुपको कार्यका लागि विश्वभरी आवाज उठ्नु उत्साहजनक हो।

परिवार समाजको एक अङ्ग भएकाले यस्तो अवस्थामा आफ्नो घर छिमेकमा घट्ने घरेलु हिंसाका घटनाहरुलाई बिशेष महत्व दिई हिंसाबाट पीडित भएकाका लागि सहयोग प्रदान गर्नु पर्छ। ताकी, आफ्नो समाज भित्र भविश्यमा अन्य कोही घरेलु हिंसाबाट पीडित हुनु नपरोस्।

प्रकाशित मिति: : 2019-03-13 23:09:01

प्रतिकृया दिनुहोस्