कास्की २ मा साझा पार्टीबाट केसीलाई उम्मेदवार बनाउने निर्णय

फाइल तस्बिर

साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वामदेव गौतमका साथै साझा पार्टीका रवीन्द्र मिश्र उठ्ने चर्चा चलेपनि दुबैले आफ्नो नाम फिर्ता लिएका थिए ।

नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय  केसी २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्। उनले त्यो चुनाव भने जितिनन्। हक्की र जोशिलो स्वभावकी केसी विद्यार्थी राजनीति गर्दादेखि नै चर्चित थिइन्।केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो ।

 पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि वैशाखमा पदबाट राजीनामा गरी साझा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामा कात्तिक १ गतेदेखि लागु हुने गरी विश्वविद्यालयले स्वीकृत गरेको छ। 

 

प्रकाशित मिति: : 2019-10-23 14:39:05

प्रतिकृया दिनुहोस्