अमेरिकासँगको वार्तापछि टर्की 'युद्धविराम'का लागि सहमत

Photo Credit : REUTERS

उत्तरी सिरियामा कुर्द नेतृत्वको फौज पछाडि हट्न सहज हुनेगरी युद्धविराम गर्न टर्की सहमत भएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।

बिहिबार अङ्करामा । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफल भएपछि युद्धविराम गर्न टर्की सहमत भएको हो ।सम्पूर्ण सैन्य कारबाही पाँच दिनको लागि रोकिएको छ र अमेरिकाले कुर्दहरूलाई व्यवस्थित ढङ्गबाट फिर्ता गर्न सघाउनेछ।

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले पत्रकारहरूसँग कुरा गर्दै सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ)ले सीमा क्षेत्र छाडेपछि मात्र सैन्य कारबाही स्थायी रूपमा रोकिने बताए।

"हामीले कारबाही रोकेका हौँ, अन्त्य गरेका होइनौँ।," उनले भने"त्यस क्षेत्रबाट (कुर्द फौज) पूर्ण रूपमा पछाडि हटेपछि मात्र हामी आक्रमण अन्त्य गर्छौँ।"
चाभुसोग्लुले कुर्द नेतृत्वका लडाकुका ठूला हतियार र तिनका आधार शिविर नष्ट पार्ने आफ्नो उद्देश्य सुरक्षित गरिएको बताए।

वाशिङ्टन र अङ्कराबीच भएको वार्तामा एसडीएफको प्रतिनिधित्व थिएन।

आक्रमण रोक्ने बताएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले तीन दिनअघि टर्कीविरुद्ध लगाएका अमेरिकी प्रतिबन्धहरू हटाएका छन्।तर दुई वरिष्ठ डेमोक्र्याट सांसदले एउटा विज्ञप्तिमार्फत् यसलाफ 'मिथ्या युद्धविराम' भनेका छन्।

प्रतिबन्ध हटाउने कुराले अमेरिकी विदेशनीतिको विश्वसनीयतालाई कमजोर पारेको उनीहरूले बताएका छन्।यसअघि पेन्सले टर्कीमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू आक्रमण पूरै रोकिएपछि फुकुवा गरिने र यसबीच थप प्रतिबन्धहरू नलगाउने बताएका थिए।

अमेरिकाले टर्कीको आक्रमणको सशक्त विरोध गर्दै दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो।अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको थियो।

प्रकाशित मिति: : 2019-10-18 08:32:02

प्रतिकृया दिनुहोस्