आफै भित्र मौलाएको अराजकताबाट पार्टीलाई खतरा भयो: अध्यक्ष दाहाल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा कम्युनिष्ट आर्दश स्खलित बनेको बताएका छन् । चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेकपाको चितवन जिल्ला समितिले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा नभएको तर आफै भित्र मौलाएको अराजकताबाट खतरा भएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा छैन, आफै भित्र मौलाएको अराजकताबाट खतरा छ, यस्ता प्रवृत्तिहरु हावी हुन दिनुहुँदैन ।’ उनले नेकपा बिग्रिहाल्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।

 देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजे

अध्यक्ष प्रचण्डले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको आरोप लगाएका छन् । प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान अञ्जानमा साथ दिएको बताए ।

‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ अध्यक्ष प्रचण्डले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’

 

 

प्रकाशित मिति: : 2019-10-17 13:20:00

प्रतिकृया दिनुहोस्