छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सनु पर्छ: प्रधानमन्त्री ओली

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको बताएका छन् । राष्ट्रपति सीले नेपाल आउनुअघि भारतको भ्रमण गरेकाले एशियाका देशहरु कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको उनले उल्लेख गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, “विश्वमै धेरै जनसङ्ख्या रहेका भारत र चीन पुराना कुरा बिर्सेर आपसी सम्बन्धलाई सुमधुर बनाउँदैछन् । नेपाल पनि सँगसँगै अगाडि बढ्न चाहान्छौँ । एशिया अब कटुताको होइन, पारस्परिक एकता, मानवहित र समृद्धिको बाटोमा अघि बढ्न चाहान्छ ।”

सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ ।

सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो ।

प्रकाशित मिति: : 2019-10-15 13:42:28

प्रतिकृया दिनुहोस्