ढुक्क भएर लगानी गर्न एनआरएनलाई राष्ट्रपतिको आह्वान

तस्बिरः बिएल

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवानसमेत गरेकी छन्।

उनले नेपालमा लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण बनेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरिन्।

राजनीतिक अस्थिरताका कारण विगतमा लगानी असुरक्षित भए पनि अब त्यस्तो अवस्थाको अन्त्य भइसकेको भन्दै उनले लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरिसकेको बताइन्।

राजधानीको होटल ह्यातमा सुरू सम्मेलन आगामी ३० असोजसम्म चल्ने छ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ। हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएको नवौं महाधिवेशन आयोजना गरिएको हो ।

सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ। सम्मेलनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति: : 2019-10-15 13:14:41

प्रतिकृया दिनुहोस्