महरालाई अदालतमा उपस्थित गराइदै

निवर्तमान सभामुख कृष्ण बहादुर महरा

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आज अदालतमा उपस्थीत गराउने भएको छ।

सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले असोज १९ गते आइतबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाएपछि नेपाल प्रहरीको एउटा टोली पक्राउ पुर्जीसहित सभामुखको सरकारी निवास पुगेको थियो।

प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

नर्भिकमै रहेका महरालाई प्रहरीले मंगलबार (आज) अदालतमा उपस्थित गराउने तयारी गरेको प्रहरी स्रोतले जानकारी दियो।

उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर थुनामा राखि अनुसन्धान गर्न प्रहरीले समय माग्नेछ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्।

अस्पताल भर्ना भएका महरामा 'स्ट्रेस'को समस्या

तर, महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

सञ्चारमाध्यमबाट यौन दुर्व्यवहारको आरोपबारे समाचार सार्वजनिक भएसँगै सत्तारूढ दल नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट तत्काल राजीनामा गर्न सुझाव दिएको थियो।

त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए।

महराबाट आफू बलात्कृत भएको दाबी गर्ने ती महिलाले पछि एक अनलाइन न्यूजपोर्टलमार्फत् आफूले आवेशमा आएर त्यसो भनेको भन्दै आफूले लगाएका आरोपहरू फिर्ता लिएकी थिइन्।

तर उनले महराले बलात्कार गर्न खोजेको किटानी गर्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा शुक्रबार राति जाहेरी दर्ता गराएकी थिइन्। त्यसपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

प्रकाशित मिति: : 2019-10-15 10:32:15

प्रतिकृया दिनुहोस्