एसिड पीडित मुस्कानका दोषिमाथि भइरहेको अनुसन्धान बुझ्न सांसद यादव पर्सा प्रहरीमा (भिडियोसहित)

तस्बिरः बिएल

मुस्कान खातुनलाई एसिड आक्रमण गरी गम्भीर घाइते बनाएका दोषिमाथि भइरहेको अनुसन्धान र मुद्दाको प्रकृयाबारे बुझ्न पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव सोमबार पर्सा प्रहरीमा पुगेका छन्।

३७ दिन अघि मुस्कानमाथि एसिड प्रहार गरेको आरोपमा घटनाका मुख्य दोषि सम्साद मिया र माजिद आलम पर्सा प्रहरीको हिरासतमा छन्।

घटनाको एक महिना बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाही नगरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। यसैबीच पर्सामा सांसद यादवले पर्साका स्थानीय सञ्चारकर्मीको रोहबरमा पर्सा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग भेटेर मुस्कान घटनाको अनुसन्धान बारे चासो राखेका हुन्। उनले दोषिमाथि कानुन बमोजिम कारवाही गर्नेुपर्ने माग समेत गरे।

पछिल्लो समय मुस्कान घटनाका दोषिद्वयलाई बचाउन चलखेल शुरू भएको भनिएपछि सांसद यादवले प्रहरीसँग मुद्दाको विषयमा जानकारी लिएका हुन्।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेन्टीस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाललगायतले सम्सादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष मेडिकल रिपोर्टमा उल्लेख गरे पनि परिवारजनले दुबैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दाबीसहित नाबालिक भएकोले सोही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन्।

यो पनि हेर्नुहोस्- मुस्कानका बाबुका दुःख- मसालेदार समाचार बनाउनेले हैरान बनाए (भिडियोसहित) 

उनी आफू निकै पीडामा भएको तर मिडियाले अनावश्यक मसला बनाएको भन्दै प्रश्न गरे, ‘के मिडियाको धर्म भनेको पीडितलाई पीडा दिनु हो? जुन कुरा मैलै भन्दै भनेको छैन, त्यो कुरालाई मुख्य समाचार बनाएर मिडियाले झनै दुःख दियो।’ Details

यता पर्सा प्रहरीले परीवारिक रेकर्ड अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा संसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेकोप्रति पनि सांसद यादवले चिन्ता व्यक्त गरेका छन्। 

वीरगन्ज छपकैया २ कि १५ वर्षिय मुस्कानमाथि गत भदौ २० गते विद्यालय जाने क्रममा दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेका थिए।

हाल मुस्कानको किर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार  भइरहेको छ।

घटना भएदेखिनै निरन्तर पीडित मुस्कानको सहयोगका लागि जुटेका सांसद यादवले बोल्न सक्ने अवस्थामा पुगेकी भए पनि मुस्कानले एउटा कान गुमाउनुपरेको जानकारी दिए। ‘मुस्कान अहिले बोल्न सक्ने अवस्था छिन्। तर, एसिडको प्रभावले गर्दा उनले आफ्ना दायाँ कान गुमाउनु परेको छ,’ उनले भने।

बालिका तथा महिलामाथि हुने एसिड प्रहारको घटना जघन्य अपराधको रुपमा रहेकाले यस्ता घटना दोहोरिन नदिन प्रहरी प्रशासन यस तर्फ गम्भीर भएर लाग्न सांसद यादवले प्रहरीलाई निर्देशन दिए।

यस्तै उनले बालिका तथा युवतिहरु विद्यालय र क्याम्पस जाने आउने समयमा निगरानी बढाउनसमेत उनले प्रहरी समक्ष माग गरे।

सांसद यादवले महिला तथा बालिकालाई अभद्र व्यवहार गर्न विद्यालय बाहिर बिना कारण बस्ने आवारा केटामाथि प्रहरीको निगरानीबारे पर्सा एसपी समक्ष जिज्ञासा राखे।

यसैबीच पर्साका प्रहरी उपरीक्षक राठौरले एसिड घटना भएकै दिन दोषिलाई पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाएको जानकारी गराए।

यो पनि हेर्नुहोस्- एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित) 

शनिबार बीएल नेपाली सेवासँग कुरा गर्दै मुस्कानले भनिन्, ‘दोषीलाई फाँसी होस्। घण्टाघरमा झुण्ड्याएर मारियोस्। मलाई जस्तो अरुलाई नहोस्।’ मुस्कानलाई सोही गाउँका एक स्थानीय युवा माबिद आलमले ६ महिनाअघि जिस्काएका थिए। जुन कुराको जानकारी मुस्कानले आफ्नो बाबु रसुल अन्सारीलाई दिएकी थिइन। बुवाले आफ्नो छोरीमाथि भएको दुर्ब्यवहार रोक्न माबिदलाई हप्काएका थिए। Details

२२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहे पनि चाडपर्वले केही दिन ढिलाई हुँदै ३७ दिन पुगेको उनले बताए।

उनले पीडित मुस्कानको बयान आईतबार लिइसकेकाले अब अनुसन्धान तथा मुद्दाको प्रकृया तिव्र गतिमा अगाडि बढाउने जानकारीसमेत गराए।

‘मुद्दाको फाइल आज भोलि मै अदालतमा पेश हुन्छ’, प्रहरी उपरीक्षक राठौरले भने, ‘पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम नै कारबाही हुन्छ।’

सांसद यादवको सवालमा जवाफ दिँदै उनले विद्यालय जाने बालिका तथा कलेज जाने युवतिमाथि पर्सा प्रहरीले गस्ती खटाई बिशेष निगरानी बढाएको अवगत गराए।

‘प्रहरी-समुदाय साझेदारी कार्यक्रम अन्तर्गत अहिले प्रत्येक विद्यालयमा गई आफूमाथि भईरहेको दुर्व्यवहार तथा अन्य घटनाको बारेमा प्रहरी समक्ष निर्धक्क रुपमा जानकारी गराउन सचेतना मुलक कार्यक्रम भइरहेको छ’, प्रहरी उपरिक्षक राठौरले भने, ‘यो कार्यक्रम अहिले प्रभावकारी भएको छ।’

यसैबीच विर्तामा सञ्चालित हार्डवेयर पसले मनिषप्रसाद मण्डलको नाममा पनि पक्राउ पूर्जी जारी भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बिना स्वीकृति तेजाब तथा रसायनिक पदार्थ बिक्री गरेको आरोपमा उनीमाथि ज्यान सम्बन्धी मुद्दा र एसिड खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ।

कानुन बमोजिम ज्यान सम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ।

सांसद प्रदीप यादव

सांसद प्रदीप यादव

मुस्कानमाथि एसिड प्रहार भएको दिनदेखि उनको सहयोग र न्यायको लागि आफू निरन्तर लागेको सांसद यादवले बिएल नेपाली सेवालाई जानकारी दिए।

घटना भएको दिन पीडितका परीवारलाई ५० हजार सहयोग रकम प्रदान गर्दै निरन्तर आफू परिवारको सम्पर्कमा रहेका बताए।

‘नेपालको वर्तमान कानुन संशोधन नभए अपराधिको मनोबल बढिरहने छ’, उनले भने,‘मैले एसिड आक्रमणको घटना बारम्बार संसद भवनमा उठाई रहेको र महिलामाथि भईरहेको यस्ता हिंशा रोक्न दोषिलाई आजीवन कारावास अथवा फाँसीको सजाय हुनुपर्ने आवाज उठाई रहेको छु।’

नेपालको कानुन विचित्र भएको भन्दै उनले नागरीकता ऐन २०६३ का अनुसार १६ वर्ष उमेरमा नागरिकता प्राप्त गरी बालिक हुने प्रावधान रहे पनि अहिलेको मुलुकी संहिता अनुसार १८ वर्ष पुग्दा पनि नाबालिक हुने कानुन रहेको स्मरण गराए। उनले यसैले दोषिमाथि कडा कारवाही नभइरहेको औल्याए।

उनले पीडित मुस्कानलाई नेपाल सरकारले उचित उपचारको व्यवस्था गर्नुको साथै निःशुल्क शिक्षाको पनि व्यवस्था गर्नुपर्ने माग गरे।

नेपाल सरकारको यस प्रकारको विशेष सहयोगले मुस्कान जस्तै अन्य पीडित महिलाको पनि हौसला बढ्ने उनले बताए।

प्रकाशित मिति: : 2019-10-14 15:44:06

प्रतिकृया दिनुहोस्