चुनावी नारा मात्र नहोस् - नेपाली भू–भाग भारतीय नक्सामा परेपछिको आक्रोश

काठमाडौं – हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट विरोधका स्वरहरू उठिरहेका छन् । 

स्वयं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दाङ पुगेर भारतले सार्वजनिक गरेको नक्सामा आपत्ति जनाए । 

बुधवार दाङमा आयोजित पत्रकार सम्मेलनमा नेपालको सार्वभौमसत्तामाथि भएको आक्रमण निन्दनीय भएको टिप्पणी प्रचण्डले गरे । 

मंगलवार नेकपाकै स्थायी कमिटी सदस्य भीम रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालको लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि देखाएको भन्दै आपत्ति जनाएका हुन् । 

नेता रावलले तत्काल पार्टीको स्थायी कमिटी र सर्वदलीय बैठक बोलाएर भारतसँग वार्ता गरी गल्ती सच्याउन माग गर्न सरकार र पार्टी नेतृत्वसँग माग गरे ।

यो विषयमा प्रमुख प्रतिपक्षी दलका नेताहरू पनि मौन बसेका छैनन् । मंगलवार नै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको भन्दै  नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी लिन माग गरे । 

नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य रहेको शर्माको टिप्पणी छ ।

नेपाली कांग्रेसका अर्का नेता धनराज गुरुङले छातीमा हानेको गोली स्वीकार गर्ने तर देशको एक चिम्टी माटो अतिक्रमण गरेको नस्वीकार्ने कडा अभिव्यक्ति दिए भने कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नेपाली भूमि भारतमा गाभिने गरी दिल्लीबाट प्रकाशित तथाकथित नक्सा नेपाली जनतालाई किमार्थ मान्य नभएको अभिव्यक्ति दिइन् । 

प्रकाशित मिति: : 2019-11-06 15:36:44

प्रतिकृया दिनुहोस्