नेकपाका दुई अध्यक्ष : मुखमा रामराम, बगलीमा छुरा

काठमाडौं, कात्तिक ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अविश्वास र आशंका फेरि बढेको छ।

खासगरी सभामुख कृष्णबहादुर महरामाथि यौन अपराधको आरोप लागेपछि प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्ड निकै चिढिएको स्रोतहरूको दाबी छ। 

प्रधानमन्त्री ओलीले प्रचण्डनिकट नेताहरूका गल्तीहरूलाई राज्य संयन्त्रको प्रयोग गरी जम्मा गरेको र त्यसलाई विरोधी सखाप पार्ने अस्त्रको रुपमा प्रयोग गर्न थालेको भन्दै साविक माओवादी खेमा त्रस्त बनेको हो।

पार्टी एकता गर्दाको भद्र सहमतिबमोजिम ओलीले प्रधानमन्त्री हस्तान्तरण नगर्ने संकेत गरेपछि प्रचण्ड बेचैन बनेका छन् । नेकपा स्रोतहरूका अनुसार, दुई अध्यक्षबीच भेटघाट भइराखे पनि मनभित्र भने शंकैशंकाले घर गरेको छ । विशेष गरी समान हैसियतका अध्यक्ष भने पनि दोस्रो मर्यादा क्रममा प्रचण्डले आफू पेलाइमा परेको महसुस गरेका छन् । प्रधानमन्त्री ओली र  उनीनिकट सत्तासीन नेताहरूले सत्ताको नेतृत्व प्रचण्डमा हस्तान्तरण हुने कुनै संभावना नरहेको अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । साविक माओवादीहरू भने साढे दुई वर्ष पुग्दा प्रधानमन्त्री प्रचण्डमा आउने दाबी गर्दैछन् ।

सरकारमा दोस्रो मर्यादामा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार विराटनगर पुगेर भने, ‘पार्टी एकीकरणका बेला दुबै अध्यक्षबीच सरकारको नेतृत्व फेर्ने कुनै सहमति भएको छैन ।’ प्रधानमन्त्री ओलीले पनि यसै साता सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिँदै पाँच वर्ष आफैँ प्रधानमन्त्री रहने बताइसकेका छन् ।

प्रकाशित मिति: : 2019-10-26 10:55:29

प्रतिकृया दिनुहोस्