भ्रमण वर्ष आउनै लाग्दा गिज्याइरहेकाे गोरखा दरबार

गोरखा– आउँदो मंसिरमा नयाँ निर्माण गर्नुपर्ने गोरखा दरबारको अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको छ। २०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको गोरखा दरबारको काम २२ महिनामा महिनाको एक प्रतिशतको दरले मात्रै भएको छ। यो अनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै वर्षौँ लाग्छ। ठेकेदारको लापर्वाहीका कारण समयमै पुनःनिर्माण हुन नसकेको हो।

‘पुरातत्व विभागले ठेकेदारलाई र ठेकेदारले पुरातत्व बिभागलाई पुन निर्माण ढिलाई हुनुको कारण मान्दै आएका छन्। गोरखा दरबार हेरचाड अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने ‘जगमा समस्या देखिएपछि स्टमेट बदल्न तीन महिना समय लाग्यो, बाँकी समय ठेकेदारको कारण ढिला भएको हो।’ पुरातत्व विभागले राम्रोसँग भौगर्भिक अध्ययन नगर्दा जग राख्ने समयमा धरातल कमजोर देखिएपछि स्टमेट बदलिएको थियो। निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले स्टमेट बदल्नु पर्दा काम गर्न नपाएको दावी गर्दै आएको छ। तीन महिना पुनःस्टमेट गर्न लागेको समय बाहेक पनि ठेकेदारले नियमित काम नगरेको अड्डाका प्रमुख भुषालले नागरिक न्यूजलाई बताए।

चार करोड ३७ लाख लागतमा निर्माण पुरा गर्ने गरी सुरु भएको दबारको जगमा ढुङ्गा राखेर ‘सोलिङ’ गरिएको र फलामे टेका र काठको थाम राख्ने बाहेकको काम भएको छैन्। अहिले अन्तिम चरणमा हुनुपर्ने बेला सुरु नै नभएपछि दरबार पुनःनिर्माणमा सरोकारवालाको नै ध्यान पुग्न नसकेको स्थानीय दिपक योगीले गुनासो गरे। ‘नयाँ निर्माण गर्नुपर्ने दरबारमा ठेकेदारले काम गरेको छैन्, चासो पनि कसैलाई छैन्, कार्यालयले काम लगाउन पनि सकेको छैन्’ उनले नागरिक न्यूजसँग भने ‘शैक्षिक भ्रमण आएका र दरबार हेर्न आएकाहरु निराश भएर फर्कन्छन्।’ दरबार पुनःनिर्माणको काम कहिलेकाँही मात्रै हुने गरेको छ। काम गर्ने मजदुर थोरै ल्याउने, निरन्तर काम नगर्ने ठेकेदारको हेलचेक्राईले सिङ्गो नेपाल चिनाउने पृथ्वीनारायण शाहाको इतिहास झल्कने दरबारको बिजोग छ।

प्रकाशित मिति: : 2019-08-30 20:23:05

प्रतिकृया दिनुहोस्