दुई चिरा हुनबाट जोगियो राजपा

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले राजनीतिक समितिको बैठक स्थगित गरेर अध्यक्षमण्डलको बैठक बोलाएको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा २ बजे अध्यक्षमण्डलको बैठक बोलाएको पार्टीका सचिव सञ्जय यादवले बताए । उनले अध्यक्षमण्डलको बैठकपछि मात्र राजनीतिक समितिको बैठक बस्ने जानकारी दिए ।

समाजवादी पार्टीसँग एकीकरणलाई लिएर पार्टीमा विवाद भएपछि त्यसको समाधानका लागि अध्यक्षण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएका थिए । तर, आफूहरुसँग सल्लाहै नगरिकन बैठक बोलाएको भन्दै अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो लगायतका नेताहरुले आपत्ति जनाएका थिए ।

पार्टी महासचिव केशव झाले सार्वजनिक रुपमै त्यसको विरोध गरेका थिए । उनले बैठक बहिष्कार गर्ने सम्मको चेतावनी दिएको थियो । उक्त अभिव्यक्तिले पार्टीमा झन् विवाद उत्पन्न भयो । पार्टीमा नयाँ समूह गठन गर्ने चेतवानीदेखि बैठक बहिष्कार गर्नेलाई कारवाही गर्नुपर्ने माग उठेको थियो ।

*****

‘अध्यक्षमण्डलका साथीहरु काठमाडौँमै हुन्छन् । तर पार्टीलाई असफल बनाउनका लागि बैठक बहिष्कार गर्छन्,’ उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागि एक नेताले भने, ‘यस्तो अवस्थामा राजनीतिक समितिको बैठक बोलाएर पार्टीका कार्यकर्ता तथा नेतालाई जानकारी दिनु मेरा दायित्व बन्छ ।’

*****

राजनीतिक समितिमा रहेका सदस्यहरुलाई मङ्गलबार नै बैठकबारे जानकारी गराइएको थियो । बैठकमा सहभागी हुनका लागि बिहीबार नै अधिकांश सदस्यहरु काठमाडौँ आइसकेका थिए ।

तर पार्टीको अवस्था नराम्रो देखेपछि अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले विवाद समाधान गर्न विहीबार साँझ अध्यक्षमण्डलमा रहेका सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका थिए ।

सो बैठकमा ठाकुरले यसरी विवाद समाधान नगरी बैठक बसे पार्टी दुई चिरा हुनेबारे सचेत गराउँदै पहिला अध्यक्षमण्डलको बैठक बसेर एजेण्डामा छलफल गरेर मात्र राजनीतिक समितिको बैठक बोलाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति: : 2019-08-30 15:05:36

प्रतिकृया दिनुहोस्