पूर्व राजदूत झा हत्या प्रकरणः ‘टोबी’ बन्यो अनुसन्धानको मियो

पूर्व राजदूत केशवराज झा हत्याको एक वर्षपछि उनकै घरपालुवा कुकुर ‘टोबी’ प्रहरी अनुसन्धानको मियो बनेको छ। पूर्व राजदूत झाले पालेको ककर स्पाइनल  जातको ‘टोबी’बाटै प्रहरीले अनुसन्धान सुरु गरेको हो। अनुसन्धान अधिकारीहरुले ‘टोबी’ ले घटनापछि देखाएको व्यवहार र उसका विशेषतामा टेकेर खोजी सुरु गरेका हुन्।

घटनापछि टोबीलाई आफन्तको घरमा लगेर राखिएको थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले विशेष अनुसन्धान टोली बनाएसँगै टोबीका विषयमा सोधखोज गरिएको थियो।

प्रहरीले आफन्तको घरमा राखिएको टोबीलाई घटनास्थलमा लैजानुका साथै कुकुर विज्ञबाट ककर स्पाइनलका प्रजातीका कुकुरको विशेषता र व्यवहारका विषयमा जानकारी लिएका हुन्।  महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले मृतक झाकी श्रीमती ज्ञानु झाको किटानी जाहेरीपछि विशेष अनुसन्धान टोली बनाएर घटनाका सबुत प्रमाण जुटाइ रहेकाे हो।

काठमाडौं बबरमहलस्थित आफ्नै घरमा हत्या गरिएका फ्रान्सका लागि पूर्व राजदूत झाले टोबीलाई सानैमा ल्याएर पालेका थिए। उनैले उसको नाम टोबी राखेका थिए।

पूर्वराजदूत झा, पत्नी ज्ञानु झा र कामदार सानुकान्छा तामाङ मात्रै बबरमहलस्थित फराकिलाे घरमा बस्थे। पूर्वराजदूत झाको प्रिय टोबी उनलाई पच्छयाउथ्यो। झापछि टोबीले कामदार सानु कान्छालाई पच्छयाउथ्यो। टोबीको रेखदेख र स्याहार उनै सानुकान्छाले गर्थे। घटनापछि टोबी सानुकान्छाको नजिक नजानुलाई प्रहरीले हत्या अनुसन्धानको प्रमुख बिन्दू मानेको छ।

प्रहरीले प्रहरी कुकुर विद्यालयका विज्ञलाई टोबीको व्यवहारमा आएको परिवर्तनले देखाउने संकेतका बिषयमा सोधपुछ गरेका हुन्। विज्ञहरुले ‘टोबी’ घटनाको प्रत्यक्ष साक्षी भएको हुनसक्ने उल्लेख गरेका छन्।

प्रहरी अनुसन्धानमा घटनास्थलमा खटिएको तालिमप्राप्त कुकुर म्याक्सलले गरेको संकेतलाई समेत अहिलेको अनुसन्धान टोलीले केलाइरहेको हो।

प्रहरीले घटनास्थलमा प्रयोग गरेको तालिमप्राप्त प्रहरी कुकुर म्याक्सलले घटनाका आरोपी घटनास्थलभित्र (झाको घरभित्र) रहेको संकेत गरेको थियो।

प्रहरी कुकुरलाई घटनास्थलमा लगेपछि उ घर वरपरमात्र घुमेको थियो। बबरमहलस्थित झाको घरबाहिर निस्किएन। अनुसन्धान अधिकारीहरुका अनुसार जर्मन सेफर्ड प्रजातीको म्याक्सलले झाको शब र हत्यामा प्रयोग भएको चक्कु सुँघेको थियो।

प्रकाशित मिति: : 2019-08-30 11:40:24

प्रतिकृया दिनुहोस्