काठमाडौं, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टीको कार्यकारी कमिटीमा रहेका सबैभन्दा पाको नेताको उमेर कति वर्ष होला? तपाईंलाई पत्याउन गाह्रो पर्ला– ९२ वर्ष भन्दा। यथार्थ यस्तै छ।
हो, अहिले नेकपाको कार्यकारी पदमा बहाल नेतामध्ये सबैभन्दा पाका नेता हुन्– लक्ष्मीदास मानन्धर। उनको उमेर करिब मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद जत्तिकै हो।
मलेसियालाई आर्थिक उन्नतिको शिखरतर्फ डोर्याउने महाथिर मोहम्मदले एक पटक राजनीतिबाट सन्यास लिइसकेपछि पुनः राजनीतिमा फर्केका हुन्, भ्रष्टाचार सहन नसकेर। उनले नयाँ पार्टी गठन गरे। अनि आफ्नै पुरानो पार्टीलाई चुनावमा पराजित गरी पुनः सत्तारोहण गरे तर नेकपाका सबैभन्दा पाका नेता मानन्धर भने त्यसरी जिम्मेवारीमा आएका पनि हैनन्।
मानन्धर एमाले र माओवादीबीचको पार्टी एकतामा साविक एमालेतर्फबाट एउटा प्रमुख जनवर्गीय संगठन– उद्योग व्यवसायी महासंघको संयोजक बनेका हुन्। उनको जिम्मेवारी ०७६ जेठ ३ गते मदननगर, बल्खुमा घोषणा भएको हो। उनको सहसंयोजकमा साविक माओवादीका श्याम पाठक घोषणा गरिएका हुन्।
नेकपाका स्थायी कमिटीका एक सदस्यले दिएको जानकारीअनुसार, जेठ २ गते पार्टीले जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुअघिसम्म उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी सावाँको नाम थियो तर अन्तिममा उक्त नाम हेरफेर गरी मानन्धरलाई जिम्मेवारी दिइएको हो। व्यावसायिक पृष्ठभूमिका मानन्धर नेकपाका पुराना सदस्य हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पाँच वर्षअघि ०७१ सालमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनले पार्टीको विधान संशोधन गर्यो, जसमा कार्यकारी कमिटीमा रहनका लागि बढीमा ७० वर्ष उमेरको हद तोकियो। विधानको दफा ६५(३) मा थपियो, ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेर को हद ७० वर्ष हुनेछ।’