शनिबार, २१ फेब्रुअरी २०२६

रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’

News Image
• • •

साँझको चकिलो घाम अलिपारि क्षितिजतिर राताम्य हुँदै थियो। दाङको तुलसीपुर बजारभन्दा केही पश्चिमतिर मूल सडकको छेउमा उनका आँखाहरू निकै अधीर देखिन्थे। घरि पूर्व घरि पश्चिमका क्षिजितसम्म नजर फैलाउँदै उनले भनिरहेकी थिइन्, ‘रातिममा राम्रोसँग नचिनिने पो हुन् कि…’ भीडबाट अर्को आवाज आयो ‘अँध्यारोमा पनि रवि उज्यालो भएर आउँछन् नि…।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुरिरहेको त्यही भीडमा थिइन् चुनरा नेपाली। उमेरले ७० टेक्न लागेकी उनी आफ्ना नातिनातिनाहरूसँगै रवि लामिछानेलाई हेर्न बाटोभरि जम्मा भएका थिए। सुर्खेतदेखि लगभग १२० किलोमिटर हुलाकी सडकको यात्रा नाप्दै दाङसम्म आउन थालेका रवि लामिछानेलाई हेर्न यहाँका सडकहरू लगभग रातैभरि जाग्राम रहे। उनीसँगै आउने भनिएका बालेन साह भने सुर्खेतबाटै काठमाडौं फर्किए र, पनि रविलाई हेर्नेहरूको भीड थामिनसक्नु भयो। यहाँमात्रै होइन रवि र बालेन जहाँ जहाँ पुगेका छन् वा पुग्ने भनेका छन्, त्यहाँ यस्तै भीड हुन्छ। हुलहुज्जत हुन्छ। जसलाई अहिलेको भाषामा उर्लिएको ‘जनसागर’ वा ‘जनलहर’ भन्ने गरिएको छ। सबलाई थाहा छ, उनिमाथि कैयौ फौंजदारी आरोपहरू छन्। संगीन मुद्दाहरूले उनको घाँटी अँठ्याइरहेको छ। र, पनि आम मतदातालाई लागिरहेको छ, यसपालि त मत फेरिन्छ, त्यो रविका लागि अनि त्यो बालेनका लागि। अदालतमा विचाराधीन मुद्दाहरूका कारण चितवनबाट चुनाव जिते पनि उनी संसद भने छिर्न पाउने छैनन् र पनि आम मतदातालाई लागिरहेको छ, ‘यसपालि नयाँहरू आउनैपर्छ…।’ पहिलाजस्तो सजिलो पनि छैन। यसपालि रवि स्वंयका लागि पनि चितवन २ को निर्वाचन अलि चुनौतीपूर्ण छ। र, पनि मतदाताहरूलाई लागिरहेछ ‘पुरानाहरूको काम छैन…।’ समाजमा नवनिर्मित यस्ता भाष्यहरू नै यसपालि परम्परागत दलका लागि चुनौती र नयाँहरूका लागि अवसर बनिरहेका छन्।

पार्टी गठन गरेको लगभग चार महिनाभित्रै चुनावमा होमिएका रवि लामिछाने र उनको पार्टीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निकै अप्रत्याशित मत ल्यायो। राजनीतिको यही न्वारान रविको जीवनमा नियतिको ‘खेल’जस्तै बनिदियो। त्यो बेलाको स्थानीय निर्वाचनबाटै नेपाली राजनीतिमा चलेको ‘स्वतन्त्र हावा’ले रविको त्यो राजनीतिक यात्रालाई पनि यसरी दगुर्‍यायो कि अब उनलाई कतै रोकिने वा थामिने छुट नै रहेन। स्थानीय निर्वाचन त्यो ‘वैशाखे’ हुरीसँगै २०७९ साल असार १७ गते निर्वाचनल आयोगमा उनले एउटा पार्टी गठन गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’। त्यो बेला उनी गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको महाप्रवबन्धक थिए। आफूलाई नै स्थापित गरेको पत्रकारिताको त्यो करिअर चटक्कै छोडेर उनी पार्टी राजनीतिमा होमिए। टेलिभिजनमै काम गरिरहेका आफ्ना केही विश्वासपात्र बनेका पत्रकारहरू लिए। समाजमा नाम कहलिएका केही चर्चित नामहरू जोडे। केही ‘थिङ्कट्याङक्’हरू खोजे। र उनले राजनीतिक यात्रा सुरु गरे। २०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा केही दलको चुनावी गठबन्धनलाई चुनौती दिँदै रास्वपाले अप्रत्याशित नतिजा ल्यायो। नेपालको संसदीय राजनीतिमा सम्भवत: पहिलोचोटी रास्वपाले धेरै नै ‘कलिला मुना’हरू संसदभित्र ल्यायो। राजनीतिमै पाकेर कपाल सेताम्य भइसकेका ‘रैथाने’ सांसदहरूका लागि भर्खरै छिरेका यी कलिला मुना अनि ‘नमुना’हरू अपत्यारिला पात्रहरू लाग्थे। पहिलो प्रयासमै प्रत्यक्ष र समानुपातिक गरी २१ जना सांसदहरू लिएर संसद छिरेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तत: सरकार निर्माणको बाटोमा निर्णायक शक्ति पनि बन्यो। संसदमा चौथो ठूलो दलका रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी सम्भवत: अहिलेसम्म संसदमा धेरै नै ‘प्रश्न’ गर्ने सांसदहरू भएको पार्टी पनि रह्यो।

राजनीतिको उदय रवि लामिछानेको आफ्नै जीवनका लागि भनेका नियतिको धेरै ठूलो गन्जागोल भयो। घरि नि संसदमा भए। घरि सरकारमा भए। घरि सडकमा रहे। पटक पटक जेल सजाय पनि काटे। ठगी, जालसाजीजस्ता अनेकन मुद्दाका भागिदार बने। सहकारी ठगीको आरोपबाट उनी अझै मुक्त हुन सकेका छैनन्। अरु उम्मेदवारहरू चुनावी उत्साह बोकेर निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन जाँदै उनी ‘तारेख बोकेर’ अदालत धाइरहेका थिए। नियतिका यस्ता चोटहरूले उनलाई धेरै पिरोलेको छ। त्यसैले यसअघि उनले कतै भनेका थिए ‘के गर्नू, मेरो भाग्य नै यस्तै छ…।’

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले लगभग ४९ हजार ३०० मतका साथ बिजयी भएका थिए। त्यसपछि एमाले माओवादीसँगै मिसिएर उनी सरकारमा सहभागी भए। गृह तथा उपप्रधानमन्त्रीसमेत भए। तर त्यो धेरै दिन टिक्न सकेन। उनिमाथि नेपाली नागरिकता अध्यावधिक नगरेको आरोप लाग्यो। जालसाझीको त्यो मुद्दाले रविको त्यो राजनीतिक सौर्य केही मधुरिएको जस्तो भयो। उनको संसद पद गुम्यो। तर अर्को दिन नै उनले फेरि नागरिकता पाए। उनले जितेको क्षेत्र चितवन २ मा फेरि निर्वाचन घोषणा भयो। ८० को वैशाखमा भएको उपनिर्वाचनमा रविको राजनीतिक सौर्य अझ चम्किलो भयो। यसपालि त उनी पहिलाकोभन्दा पनि अझ धेरै ५४ हजार २७६ मत लिएर संसद फर्किए। लड्न अनि भिड्न त रविले पत्रकारिताबाटै सिकेका हुन्। त्यहाँ पनि रविले कसैलाई बोलीमा हराउन सकेनन्। यसै पनि लगातार ६० घण्टाभन्दा धेरै समयसम्म अन्तर्वार्ता चलाएर उनले आफ्नो नाम गिनिज बुकमा पनि लेखाइसकेका थिए। नेपाली पत्रकारिताका कैयौ स्थापित मान्यताहरूलाई ढाल्दै रवि लामिछानेले यहाँ पनि फरक मानकहरूलाई स्थापित गरे। पत्रकारिताबाटै आफूलाई नेपाली समाजको एउटा हिस्सामा  ‘भगवान’ सावित गरेका उनलाई राजनीति त फलिफाप हुँदै थियो। तर त्यही राजनीति उनको निजी जीवनका लागि भने ‘पनौती’जस्तै भइदियो।

जीवनका यस्तै धेरै नियतिहरूले रविको राजनीतिक जिन्दगीलाई सुरुदेखि नै पछ्याइरहेका छन्। परम्परागत राजनीतिक दलहरूको प्रतिसोध भनौं वा साधना नमिलेका उनका राजनीतिक सारथीहरू? जति रविलाई चाहनेहरू छन् त्यत्तिकै हिस्सा उनलाई दुत्कार्नेहरूको पनि छ। रवि कुनै राजनीतिक विरासतबाट खुसुक्क पदको सौर्यमा उदाएका पात्र होइनन्। यही समाजमा हेपिएका, न्याय पाउने आशामा झन् धेरै अन्यायबाट पिल्सिएका अनि आफ्नो सारा जवानी खाडीमा पसिना बगाउनेहरूका ‘सारथी’ बनेर उनले आफूलाई स्थापित गरेका हुन्। नेपाली समाजको यो चरित्र नै हो कि कसैलाई रातारात ‘देवत्त्वकरण’ र कसैलाई क्षणका क्षण ‘राक्षसीकरण’ गरिहाल्ने। नेपाली राजनीतिमा पनि त्यो प्रवृत्ति उस्तै छ। राजनीतिमा पनि रविलाई राजनीतिको नयाँ शक्ति ठान्नेहरू छन्, राजनीतिको धमिलो पानीमा सुनौलो माछा समाउन आएका भन्नेहरू पनि छन्। उनलाई समकालीन राजनीतिको ‘बिपी कोइराला’ ठान्नेहरू पनि उनीसँगै छन्।

सहकारी ठगीका कैयौ गन्जागोल मुद्दाहरूसँग लड्दैलड्दै उनी पटक पटक जेल बस्नुपर्‍यो। अझै पनि पाँच जिल्लामा उनिविरुद्ध त्यस्तै ठगीका मुद्दाहरू छन्। करोडौं रुपैयाँ धरौटी बुझाइसकेका छन्। सम्पत्ति सुद्धिकरणको मुद्दा अझै उनको घाँटीमा झुन्डिरहेको छ। उनकै भाषामा ‘भाग्य’ले बिथोलेका रवि अघिल्लो कार्यकालमा उतिधेरै संसद छिर्न पाएनन्। सरकारमै पनि टिक्न सकेनन्। बरु उनलाई त्यस्तै मुद्दा र आरोपहरूले निरन्तर खेदिरहे। जसरी उनि आफैले कुनै बेला नेपालका मिडिया र पत्रकारहरूलाई बेस्सरी गाली गरेका थिए। दोस्रोपटक गृहमन्त्री भएपछि उनले त्यो गल्ती स्वीकार गर्दै माफी त मागे तर नेपालका मूलधार र परम्परागत मिडिया अनि पत्रकारहरू उनिप्रति कहिल्यै सकारात्मक भएनन्।

उनी कारागारमै रहेका बेला नेपालमा गत भदौ २३ र २४ गते जेनजीको विद्रोह भयो। त्यो विद्रोहलाई जेलबाटै नियालीरहेका उनलाई फेरि त्यही एउटा भीडले जेलबाट निकाल्यो। त्यो आन्दोलनमा सयौं नवयुवाहरूले जिन्दगी बिसाएका छन्। कतिले रगत मिसाएका छन्। २४ गतेको विध्वशंले देशका कैयौ धरोधर र अर्थतन्त्र खरानी भएको छ। त्यहाँबाट रवि निस्किनु, देशभरिका कैदीहरूको विद्रोह सुरु हुनु र हजारौं कैदी अहिले पनि फरार रहनुको दोष अहिले पनि रविमाथि नै छ। भलै उनले कागजी प्रक्रिया पुर्‍याएर निस्किएको दाबी गरिरहेका छन्, परिस्थितिका कैयौं ब्यवहारिक जटिलताहरू भनेका छैनन्। कुनै दिन भन्लान्। तर धेरै नै आलोचना भएपछि उनी फेरि आफ्नै जन्मदिनको साइत पारेर कारागार फर्किए। त्यसको केही महिनापछि अदालती प्रक्रिया पुर्‍याएरै छुटे। र, त्यही जेनजी विद्रोहको जगमा फागुन २१ गते हुन थालेको निर्वाचनमा फेरि आफ्नै निर्वाचन क्षेत्र फर्किएर उनी चुनाव लड्दैछन्।

उनको जीवनमा राजनीति फाप्यो कि फापेन? अझै फाप्ने हो कि होइन? यो उनको आफ्नै ‘भाग्य’लाई थाहा होला तर बालेनजस्ता नवपुस्ताका ‘नायक’लाई रावस्वामा ल्याएर फेरि एकपटक उनले जसरी परम्परागत राजनीतिको विरासतमा ‘घण्टी’ बजाइरहेका छन्, नेपाली राजनीतिक इतिहासमा यो पनि एउटा मानक बनेर स्थापित हुनेछ। जसरी २०६४ सालमा माओवादीसँग बन्दुकको बल थियो अनि जनतालाई त्यही डर थियो। अनि मतदाताको सारा मत माओवादीमै खनियो। युद्ध बिसाएर भर्खरै संसदीय यात्रामा झरेको माओवादीले सुरुवातमै पाएको त्यो मतको भारीले ऊ यसरी थिचियो कि अहिलेसम्म ओरालाव यात्रा उसका लागि थामिनसक्नु भएको छ।

२०३६ सालमा तत्कालीन पञ्चायतले ‘जनमत संग्रह’ घोषणा गर्‍यो। त्यो बेला जे भने पनि एकप्रकारले त्यो चुनावजस्तै थियो। सबैले चुनावकै रुपमा लिएका थिए। पार्टीभित्रै र अरु राजनीतिक दलहरूको असहमति हुँदा हुँदै पनि तत्कालीन नेपाली काँग्रेसका सभापति बिपी कोइरालाले त्यसमा भाग लिने निर्णय लिएका थिए र सबैलाई सहभागी हुन आह्वान पनि गरेका थिए। त्यतिबेला कसैले बिपीलाई प्रश्न गरेको थियो ‘हारिन्छ भन्ने थाहा हुँदा हुँदै पनि किन यो जनमत संग्रहमा भाग लिँदै हुनुहुन्छ?’ बिपीले हाँस्दै सटिक जवाफ दिएका थिए ‘जनतालाई प्रजातन्त्रको लत लागोस् भनेर…।’

त्यो जनताको कुरा थियो। त्यसपछि बिग्रिएको त राजनीतिक दलहरूलाई सत्ताको लतमात्रै होइन बरु त्यसको ‘कुलत’ लागेर हो।

रविका नियतिहरूले खेदिरहेको राजनीति अनि बालेनहरूको ‘बिगबिगी’सँगै आउने चुनावी परिणाम रास्वपाका लागि ‘कुलत’ बन्दैन कि!

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!